सिनोभ्याकलाई नेपालमा अनुमति

२२ जेठ, काठमाडौं ।

सरकारले कोरोनाविरुद्धको चिनियाँ कम्पनी सिनोभ्याक लाइफ साइन्सले विकास गरेको खोपलाई अनुमति दिएको छ ।

गत मंगलबार मात्रै यसलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले अनुमति प्रदान गरेको खोप १८ वर्षभन्दा बढी उमेर समूहका मानिसहरुलाई लगाउन सकिनेछ । यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रममा १२ महिनासम्म राख्न सकिन्छ ।

नेपाल सरकारले यसअघि भारतको सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड, चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल र रुसी खोप स्पुतनिक भी र भारतीय खोप कोभ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ ।

स्वास्थ्य मन्त्रालयले भ्याक्सिन, अक्सिजन कन्सन्ट्रेसन, पेडिएट्रिक भेन्टिलेटर, आईसीयू बेड, मनिटर, पीसीआर टेस्ट किटबाहेक अन्य स्वास्थ्य सामग्री सहयोग नपठाउनका लागि परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताए ।

अन्य स्वास्थ्य सामग्री आवश्यकभन्दा धेरै आएको र थप सहयोग गर्न चाहने निकायले यी सामग्रीलाई प्राथमिकतामा राख्न आग्रहसहित परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here