कांग्रेसले भ्रमपूर्ण प्रचार गरेकोप्रति नगरपालिकाको आपत्ति

२२ जेठ, गौर ।

नेपाली कांग्रेसका नेताहरुले तथ्यहीन विषय जोडेर सामाजिक संजालमार्फत भ्रमपूर्ण प्रचार गरी बदनाम गर्न खोजेको भन्दै रौतहटको मौलापुर नगरपालिकाले त्यसप्रति आपत्ति जनाएको छ । साथै यसमा संलग्नमाथि कारवाहीको मागसमेत गरेको छ ।

शहरी विकास मन्त्रालयको सुरक्षित नागरिक आवास कार्यक्रमको सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साको समन्वयमा गरिबीको रेखामुनि रहेका, आगो, पानी तथा हावाहुरीले सजिलै प्रभावित पार्न सक्ने घर भएकाहरू र प्रकोपका कारण घरवारविहीन भएका घर परिवारहरुलाई सुरक्षित आवास निर्माणका लागि सामाग्री किन्न अनुदानको रकम उपलब्ध गराउन लाभग्राही छनोटकै क्रममा रहेको भएपनि नगरपालिकाले चलखेल गरी पक्की घर भएकोलाई अनुदान दिइसकेको भन्दै प्रचारवाजी गर्ने कांग्रेसप्रति नगरपालिकाले आपत्ति जनाएको छ ।

समन्वय समितिको बैठकबाट लाभग्राही छनोट भएर नगरपालिकाले सम्झौता गरेर पहिलो चरणमा ६०% र दोस्रो चरणमा ४०% अनुदान रकम लाभग्राहीको खातामै जाने स्पष्ट व्यवस्था रहेको नगरपालिकाले स्पष्ट पारेको छ ।

सोही व्यवस्था बमोजिम अहिलेसम्म लाभग्राही समेत छनोटका लागि निवेदन संकलन र सर्वेक्षणकै क्रममा रहेको अवस्थामा नगरपालिकाको काम प्रभावित गर्न र जनविश्वास घटाउन तथ्यहीन प्रचारवाजी र गैरकानुनी रुपले सामाजिक संजालमा स्टाटस लेख्ने कार्यको नगरपालिकाले घोर भर्त्सना गरेको छ । यस्ता क्रियाकलापमा संलग्नलाई कारवाही गर्न गृह प्रशासनसंग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here