२२ जेठ, कञ्चनपुर ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)को अवरोधका कारण कञ्चनपुरमा झण्डै डेढ वर्षदेखि हुलाकी सडक निर्माणको काम प्रभावित भएको छ । २०७३ सालदेखि निर्माण कार्य थालिएको पुनर्वास नगरपालिकाको मोहनापुलदेखि वेदकोट नगरपालिकाको दैजीसम्मको ६२ किलोमिटर खण्डमध्ये बेलौरी क्षेत्रमा भारतीय एसएसबीको अवरोधका कारण काम रोकिएको हो ।
स्थानीय प्रशासनबाट समस्या समाधानको लागि गरेको पहल सफल नभएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कागजात मागेको छ । बेलौरी नगरपालिका–८ को खप्टी नाला क्षेत्रको साढे एक किलोमिटर सडक खण्डमा डेढ वर्षदेखि एसएसबीको अवरोधका कारण काम गर्न नसकिएको हुलाकी सडक योजना कार्यालय धनगढीले जनाएको छ ।
कार्यालयका इन्जिनियर पदमबहादुर मडैले एसएसबीले उक्त भूमि भारतमा पर्ने भन्दै काममा अवरोध सिर्जना गर्दा डेढ वर्षदेखि निर्माण कार्य अगाडि बढाउन नसकिएको बताए । ‘सीमा क्षेत्रमा सडक लगायतका भौतिक संरचना निर्माण गर्दा ९.१ मिटर छोड्नुपर्ने प्रावधान छ,’ इन्जिनीयर मडैले भने, ‘हामीले सबभन्दा नजिकको पिल्लरबाट २० देखि २५ मिटर नेपालतर्फ सडक निर्माण गरेका छौँ । तर भारतीय एसएसबीले आएर आफ्नो भूमि दाबी गर्दा काम अगाडि बढाउनै सकिएको छैन ।’
बेलौरी क्षेत्रमा सडक निर्माणको विषयलाई भारतीय एसएसबीले विवाद गर्न थालेको डेढ वर्ष बित्दा समेत विवाद सामाधान गर्न चासो दिइएको छैन । हुलाकी सडक निर्माणको ठेक्का पाएको बबा हंस सिद्धी शाही जेभीले एसएसबी पहिलेको भन्दा आक्रामक हुँदै जान थालेको जनाएको छ ।
निर्माण व्यवसायी चक्र शाहीले भारतीय एसएसबीले सडक निर्माणको विषयलाई लिएर अनावश्यक दुःख दिन थालेको गुनासो गरे । ‘पहिलेको भन्दा अहिले एसएसबी निकै आक्रामक बनेको छ,’ शाहीले भने, ‘सो क्षेत्रमा हाम्रो गाडीहरु देख्ने बितिकै हतियारसहितको टोली पुग्ने गरेको छ । सोही कारण कालोपत्र गर्न ठीक्क पारिएको सडकको काम गर्न सकिएको छैन ।’
उनले एसएसबीले जबरजस्ती सडक निर्माण गरेमा हुने क्षतिको जिम्मेवारी लिनुपर्ने चेतावनी समेत दिंदै आएको उनी बताउँछन् । ‘एसएसबीले जबरजस्ती निर्माण गर्यौ भने त्यसको जिम्मेवारी तिमी आफैं लिनू भन्छ । सोही कारण अहिले हामीले डेढ किलोमिटर क्षेत्रको काम छाडेर अगाडि बढेका छौं,’ उनले भने ।
हुलाकी सडक योजना कार्यालयका अनुसार कुल ६२ किलोमिटर खण्डमध्ये ३२ किलोमिटर कालोपत्रे भइसकेको छ भने विवादित क्षेत्रको डेढ किलोमिटर छोडेर २८.५ किलोमिटर सडक कालोपत्रे हुने क्रममा छ । सडक निर्माणको ठेक्का अवधी समाप्त भएकाले थप गरिने योजना कार्यालयको भनाइ छ ।
निर्माण व्यवसायीको निवेदनलाई बेवास्ता
भारतीय एसएसबीकै अवरोधका कारण डेढ वर्षदेखि प्रभावित भएको सडकको काममा सहजीकरण गरिदिन माग गर्दै निर्माण व्यवसायीले योजना कार्यालय र स्थानीय प्रशासनमा गत वर्षको असारमै निवेदन पेश गरेका थिए । तर निवेदन दिएको एक वर्ष बित्दा समेत कुनै सुनवाइ हुन नसकेको उनीहररुले गुनासो गरेका छन् ।
निर्माण व्यवसायी शाहीले भने, ‘उहाँहरुबाट अहिलेसम्म कुनै सुनवाइ भएको अवस्था छैन । सोही कारण समस्या जहाँको त्यहीँ छ ।’
हुलाकी सडक योजना कार्यालयले भने विगतमा कञ्चनपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले आफ्नो आदेशबिना काम अघि नबढाउन निर्देशन दिए पनि अन्य निकास भने निस्कन सकेको थिएन । प्रजिअकै निर्देशन बमोजिम योजना कार्यालयले निर्माण व्यवसायीलाई विवादित बाहेकको क्षेत्रमा काम गर्न भनेको थियो । दुबै देशको संयुक्त नापजाँच टोली आएका बखत समेत सो विषयमा कुरा उठाएको भए पनि कुनै निकास ननिस्किएको इन्जिनियर मडैले बताए ।
पछिल्लो पटक भने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले यीसम्बन्धि कागजात मागेको छ । बेलौरी नगरपालिकाले हुलाकी सडक सम्बन्धी विवाद समाधानका लागि पहल गरिदिन अनुरोध गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेपछि आवश्यक कागजपत्र माग गरिएको पाइएको छ ।
प्रधानमन्त्री कार्यालयले हालै जिल्ला प्रशासन कार्यालय मार्फत हुलाकी सडक योजना कार्यालयलाई पत्र पठाउँदै आवश्यक विवरण माग गरेको हो । ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हामीलाई हुलाकी सडक र विवादित क्षेत्रसँग सम्बन्धित आवश्यक कागजपत्र माग भएको छ,’ सडक योजना कार्यालयका इन्जिनियर मडैले भने, ‘हामी ती विवरण संकलन गरेर पठाउने तयारीमा छौं । सम्भवः अब विवाद सामाधानका लागि केही प्रक्रिया अगाडि बढ्ला की ?’
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने सडकको विवाद सम्बन्धी समस्या सामाधानका लागि आवश्यक पहल भइरहेको जानकारी दिए । ‘हिजोआज बाहिर आएजस्तो त्यहाँ समस्या छैन,’ प्रजिअ महतोले भने, ‘यसअघिकै समस्या हो । म प्रजिअ भएर आउनु अगाडि पनि दुई पक्षबीच छलफल भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि विवरण माग गरेको छ ।’