यौन दुर्व्यवहारको उजुरी परेपछि वायु सेना प्रमुखले दिए राजिनामा

२२ जेठ, काठमाडौं ।

दक्षिण कोरियाका वायु सेना प्रमुखले यौन दुर्व्यवहारको घटनापछि राजीनामा दिएका छन् । शुक्रबार सेना प्रमुख ली सियोङ योङले राष्ट्रपति मुन जाइ इनलाई राजीनामा दिएलगत्तै उनको राजीनामा तत्कालै स्वीकृत भएको थियो ।

गत महिनाको अन्त्यतिर वायु सेनाकी एक जना मास्टर सर्जेन्टले आत्महत्या गरेपछि कोरियाली समाजमा तरंग आएको थियो । ती महिलाले आफूलाई गत मार्चमा गाडीभित्र यौन हिंसा भएको बताएकी थिइन् ।

ली उपनामकी उनले त्यसविरूद्ध उजुरी पनि हालेकी थिइन् । उनको परिवारका अनुसार लीका हाकिमहरूले उक्त उजुरी फिर्ता लिन र घटना मिलाउन दबाब दिएका थिए । उक्त घटनापछि लीको सरूवा पनि गरिएको थियो ।

पछि उनी आफ्नै कोठामा मृत भेटिएकी थिइन् ।

‘यदि तपाईंहरू आफ्नो सेनाको एक जना मानिसको रक्षा गर्न सक्नुहुन्न भने देशको रक्षा कसरी गर्नुहुन्छ,’ पीडितकी आमाले स्थानीय सञ्चारमाध्यमसँग भनेकी छन्, ‘तपाईंहरूले कसरी उनलाई त्यति एक्लो पार्नुभयो? उनले कसरी सोचिन् कि मेरा लागि यो दुनियाँमा कोही छैन भन्ने ठानिन् र त्यति कठोर निर्णय गरिन् ?’

शुक्रबार दिउँसोसम्म ३ लाख ५० हजार मानिसले घटनाको विस्तृत छानबिन गर्नुपर्ने माग राख्दै हस्ताक्षर गरेका छन् ।

यो घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

‘मैले यो परिस्थितिका लागि जिम्मेवार ठानेँ,’ सेना प्रमुख योङले भने, ‘मृतकप्रति मेरो गहिरो श्रद्धाञ्जली र परिवारप्रति समवेदना छ ।’

दक्षिण कोरियाली समाजमा पितृसत्ता हावी छ । त्यहाँ हरेक सक्षम पुरूषले झन्डै २ वर्ष सेनामा काम गर्नैपर्छ । महिलाहरूका लागि भने सैनिक सेवा रोजाइको विषय हो ।

यसअघि पनि ट्रेनिङका बेला हुने बुलिङ र अन्य दुर्व्यवहारले कति जनाले आत्महत्या गरेका घटना हुन्थे ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here