२२ जेठ, ग्वार्को ।
ह्यान्ड स्यानिटाइजर कालोबजारी गरेको आरोपमा प्रहरीले ललितपुरको ग्वार्कोबाट दुई जनालाई पक्राउ गरेको छ ।
शुक्रबार प्रहरीले महालक्ष्मी नगरपालिकाको ग्वार्कोस्थित ओम निरमाया हेल्थ केयर प्रा.लिका दुई जना सञ्चालकलाई पक्राउ गरेको हो ।
उनीहरूले मापदण्ड विपरीत स्यानिटाइजर बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।
पक्राउ पर्नेमा मोरङ विराटनगर उपमहानगरपालिका वडा नम्बर १४ घर भइ महालक्ष्मी नगरपालिका वडा नम्बर ४ बस्ने ४४ वर्षीय अमित ताम्राकार र ललितपुर महानगरपालिका वडा नम्बर ५ महालक्ष्मीस्थान बस्ने ४३ वर्षीय निरेश थापा छन् ।
उनीहरूबाट प्रहरीले २ सय ४० लिटर ह्यान्ड स्यानिटाइजर बरामद गरेको छ । उनीहरूमाथि प्रहरीले कालो बजार तथा सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाएको बताएको छ ।