किशोरी अपहरण आरोपमा एक जना पक्राउ

२२ जेठ, सप्तरी ।

जिल्लामा किशोरी अपहरण गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । प्रहरीले राजविराज नगरपालिका वडा नम्बर २ का ३८ वर्षीय नविन देवलाई पक्राउ गरेको हो ।

उनलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । देवले बिहीबार साँझ पौने ६ बजे राजविराज नगरपालिका वडा नम्बर २ बस्ने सनोजकुमार देवकी १४ वर्षीया छोरीलाई अपहरण गरेका थिए ।

१४ वर्षीया किशोरी र उनका १६ वर्षीय दाजु घरमा एक्लै बसिरहेको बेलामा नविन देव घर पुगेका थिए । नविनले घरमा गएर आफू बुवाको साथी हुँ भनेर चिनाएको डिएसपी काफ्लेले जानकारी दिए ।

‘म बुबाको साथी हुँ । मेरो घरमा घरबासको कार्यक्रम छ म तिमीहरूलाई लान्छु । बुबासँग कुरा भइसकेको छ,’ नवीनले ती किशोरलाई भनेका थिए । उनीहरूलाई फकाएर नविनले मोटरसाइकलमा राखेर लगे । केही पर लगेपछि नवीनले किशोरलाई मोटरसाईकलबाट ओराले र किशोरी लिएर भागे ।

बहिनीको अपहरण गरेको थाहा पाएपछि दाजुले आफ्नी बहिनीलाई अपहरण गरेको भन्दै तत्कालै प्रहरीलाई खबर गरेको डिएसपी काफ्लेले बताए ।

त्यसपछि खटिएको टोलीले राजविराज रुपनी सडकखण्डमा फेलापारी उनको उद्धार गरेको थियो । त्यस्तै, नविन देवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here