प्रेमपत्र लेखेको निहुँमा किशोरमाथि निर्घात कुटपिट

२१ जेठ, रौतहट ।

जिल्लाको दुर्गा भगवती गाउँपालिका–५ मा एक किशोरले प्रेमपत्र लेखेको भन्दै उनीमाथि निर्घात कुटपिट भएको छ । उक्त स्थानका विकास पासवानमाथि कुटपिट भएको छ ।

सोही गाउँपालिकाका वडा नम्बर ४ बस्ने किन्सीदेव गिरीले ११ कक्षामा पढ्ने पासवानको हात बाँधेर कुटेका छन् । छेउछाउका मान्छे हेरिरहेका छन् भने तीन व्यक्तिले कुटिरहेको यो भिडियो शुक्रबार भाइरल भएपछि प्रहरीले यस विषयमा बुझिरहेको बताएको छ । किन्सीदेवसँगै उनका छोराहरु सन्तोष गिरी, छोटु गिरीलगायतको समूहले बाँधेर पिटेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटना बिहीबारकै भएको बताइएको छ । दुर्गाभगवती–५ का वडाध्यक्ष धर्मनाथ चौधरीले ती युवकले स्थानीय युवतीलाई प्रेमपत्र लेखेपछि घटना भएको आफूले सुनेको बताए । ‘केटीलाई चिठीसिठी पठायो भन्ने कुरा सुन्नमा आएको छ, खास कुरा के हो मलाई पनि थाहा छैन,’ उनले भने, ‘ब्यस्त भएकाले राम्रोसँग बुझ्न पाएको छैन ।’

हाल प्रहरीले दुवै पक्षलाई छलफलका लागि बोलाएको वडाध्यक्षले बताए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) शिद्धिविक्रम शाहले पीडित युवकको स्वास्थ्य जाँच गरिएको र घटनामा संलग्नको आरोपमा ५० वर्षका राजदेव गिरी र अरु २ जना पक्राउ परेको बताए ।

‘घटनाको बारेमा पीडितले अहिलेसम्म उजुरी गरेका छैनन् । हामीले ३ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्दैछौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here