प्रदेश नं. २ मा कांग्रेस निर्णयक : जसपाका दुवै समूह समर्थन माग्दै

२१ जेठ, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा)को सरकार रहेको प्रदेश नं. २ मा सरकार हेरफेरमा नेपाली कांग्रेस निर्णायक भूमिकामा पुगेको छ । प्रदेश सरकार फेरबदल हुनसक्ने देखिएपछि विपक्षी र सत्तापक्ष दुवै एकअर्काको साथ खोज्दैछन् ।

जसपा अनौपचारिक रुपमा फुटेसँगै उपेन्द्र यादव र महन्थ ठाकुर दुवै समूहसँग सत्ता साझेदारीका लागि कांग्रेस आफै अघि सरेर छलफल गरिरहेको छ । जसपाका नेताहरु पनि यसमा सक्रिय रुपले लागेका छन् ।

सत्तारुढ दलमा आएको फुटको फाइदा उठाउन विपक्षी दलहरुले सत्ता सहकार्यको प्रस्ताव अघि सारिरहेका छन् । जसपामा अध्यक्षद्वय यादव र ठाकुरले एक अर्कालाई कारबाही गरेपछि विवाद निर्वाचन आयोगसामु पुगेको छ ।

त्यो टुंगो नलाग्दासम्म कानूनी रुपमा जसपा पार्टी एक भए पनि व्यवहारिक रुपमा विभाजित भइसकेको छ । यससँगै प्रदेश २ को सत्ता समीकरण हेरफेर हुने संकेत देखिएको छ ।

तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रदेश २ मा गठबन्धन बनाएर चुनाव लडेका थिए । दुबै दल मिलेर प्रदेश सरकार पनि बनाए । वैशाख २०७७ मा दुबै पार्टीबीच एकता भएर जसपा बनेको थियो ।

तर एक वर्षमै फुटतिर लागेका उपेन्द्र यादव र महन्थ ठाकुर पक्ष प्रदेश सरकार गुमाउन चाहँदैनन् । त्यसैले विपक्षी दलसँग सत्ता गठबन्धनबारे छलफल थालेका छन् ।

दुबै पक्षका नेताहरुले सत्ता सहकार्यका लागि आफूसँग छलफल कांग्रेस संसदीय दलका नेता रामसरोज यादव बताउँछन् । उनका अनुसार मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सत्ता सहकार्यका लागि छलफल गरेका छन् । ‘दुबै जनाले सत्ता सहकार्यका लागि आग्रह गर्नुभएको छ’ नेता यादव भन्छन्, ‘पार्टी फुटिनसकेको अवस्थामा कसरी सहकार्य गर्ने ? दुबै जनालाई यही भनेको छु ।’

मुख्यमन्त्री राउत तत्कालीन सपा पक्षका हुन् भने मन्त्री सोनल तत्कालीन राजपा पक्षका नेता हुन् ।

संसदीय दलका नेता यादवका अनुसार जसपा फुटेको अवस्थामा सहकार्य गर्न कांग्रेस तयार छ । ‘दुबै नेताले सत्ता सहकार्यबारे गरेको कुरा पार्टीको माथिल्लो निकायसम्म पु¥याउँछौं,’ उनले भने, ‘उताबाट आउने निर्देशनअनुसार अघि बढ्छौं ।’

जसपाका एक सांसदले पनि नयाँ सत्ता समीकरणका लागि प्रयास भइरहेको स्वीकार गर्छन् । उनका अनुसार उपेन्द्र यादव पूर्व राजपालाई सरकारबाट निकालेर कांग्रेस, माधव नेपाल समूहको एमाले र माओवादीसँग सरकार बनाउन खोजेका छन् ।

केन्द्रमा पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने तयारीमा रहेको पूर्व राजपा पक्षले भने एमालेको साथ लिएर सरकार बनाउन चाहेको छ ।

जसपाका केन्द्रीय सदस्य समेत रहेका प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह भने तत्काल सरकार परिर्वतनको सम्भावना नभएको दाबी गर्छन् । ‘हामी नीति तथा कार्यक्रम र बजेटको तयारीमा लागेका छौं,’ उनले भने ।

प्रदेशमा कुल १ सय ७ सांसद रहेकोमा नेकपा माओवादी केन्द्रले ३ जनालाई कारबाही गरेपछि अहिले सांसदको संख्या १ सय ४ छ । सत्तारुढ जसपासँग ५५ सांसद छ, जसमा ३० तत्कालीन समाजवादी र २५ जना तत्कालीन राजपा पक्षका हुन् ।

यसैगरी नेकपा एमालेको कुल २१ सांसद छन्, जसमध्ये १३ जना माधव नेपाल र ८ जना केपी ओली पक्षमा छन् । नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ७ र नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन् ।

यदि सत्तारुढ दलमा विभाजन आयो र तत्कालीन सपा र साजपाले आफ्नो सांसद संख्या कायमै राखेमा दुई दल मिलेर सरकार बन्दैन । उपेन्द्र यादव पक्षले केन्द्रमा विपक्षी गठबन्धनमा रहेको कांग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउन सक्छ । त्यसो भएमा सहजै सरकार बन्छ । तर राजपाले एमालेको मात्र साथ पाएर सरकार बनाउन सक्दैन । कांग्रेस वा माओवादी केन्द्रमध्ये कम्तीमा एक दलको समर्थन जुटाउनुपर्छ । जुन सहज देखिँदैन ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here