२० जेठ, पर्सा ।
वीरगञ्ज महानगरपालिकाले सरकारसँग १ लाख डोज खोप माग गरेको छ । महानगर प्रमुख विजयकुमार सरावगीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार पत्राचार गर्दै १ लाख डोज खोप उपलब्ध गराउन माग गरेका हुन् ।
‘वीरगञ्ज र आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवन रक्षाको लागि वीरगञ्ज क्षेत्रलाई लक्षित गरी तत्काल एक लाख डोज खोप उपलब्ध गराउन हुन माननीय मन्त्रीज्यू समक्ष अनुरोध गर्दछु,’ महानगरले स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ ।
यसअघि वीरगञ्ज महानगरपालिका लगायत केही स्थानीय तहले खोप खरिदका लाग अनुमति माग गर्दा स्वास्थ्य मन्त्रालयले खोप खरिदको जिम्मेवारी संघीय सरकारको भएको जवाफ दिएको थियो ।
कोरोना महामारीको विषम परिस्थितिमा वीरगञ्ज भन्सार नाकाबाट हुने ढुवानी सेवामा संलग्न चालक, सहचालक, भंसारमा कार्यरत कर्मचारीसहित श्रमिक र सेवा प्रदायक संस्थाका प्रतिनिधिहरु, उद्योग प्रतिष्ठानमा कार्यरत श्रमिकहरुलाई पहिलो प्राथमिकतामा राखी खोप लगाउनु पर्ने महानगरपालिकाको माग छ ।
उनीहरुको सम्पर्क ढुवानी सेवामार्फत देशका विभिन्न शहरमा हुने भएकाले गम्भीर रुपमा लिनुुपर्ने महानगरले मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ ।
कोभिडको उच्च जोखिममा रहेका शिक्षण संस्थामा कार्यरत शिक्षक, कर्मचारी र विद्यार्थीहरु, बैकिङ्क तथा वित्तीय क्षेत्रमा संलग्न कर्मचारीहरुलाई समेत प्राथमिकतामा राखेर खोप दिनुपर्ने महानगरपालिकाले बताएको छ ।