२० जेठ, पर्सा ।
जिल्लामा निषेधाज्ञा लगाउनेहरुले नै निषेधाज्ञाको उल्लंघन गरिरहेका छन् । निषेधाज्ञा लगाउने निर्णय लिने जिल्ला कोभिड–१९ सङ्कट व्यस्थापन केन्द्र (डीसीसीएमसी) का पदाधिकारीले नै निषेधाज्ञा उलङ्घनमा संलग्न छन् ।
कोरोनाभाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्लामा हाल १ महिनाभन्दा बढी समयदेखि निषेधाज्ञा जारी छ । औषधी उपचार र अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्कन नदिन डीसीसीएमसीको बैठकले निर्णय गरेको छ । निषेधाज्ञा अवधिभर कुनैपनि भेला, सम्मेलन, जुलुस र विरोधका कार्यक्रम गर्न नपाइने निर्णय पनि बैठकबाट भएको छ ।
तर डीसीसीएमसीको बैठकमा सहभागी पदाधिकारी र उनीहरु आबद्ध सङ्घ सङ्गठनले नै निर्देशनको अवज्ञा गरेका छन् ।
सत्तारुढ दल नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले निषेधाज्ञा उलङ्घन गरेका हुन् । दुवै दलका अध्यक्ष डीसीसीएमसीका पदाधिकारी हुन् । उनीहरुले यसरी निषेधाज्ञालाई उलङ्घन गरिरहँदा प्रशासन भने मुकदर्शक बनेको छ ।
एमालेका नेता एवम् संविधानसभा सदस्य राजकुमार गुप्ताले निषेधाज्ञाको उलङ्घन गरेर जिल्लाको ग्रामिण क्षेत्रमा निर्वाचन केन्द्रीत भेला गर्न थालेका छन् । उनले विगत ३ दिनदेखि आफ्नो निर्वाचन क्षेत्रको विभिन्न स्थानमा पार्टी प्रवेशदेखि कार्यकर्ता भेला गरेको तस्विरहरु अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छन् ।
त्यसैगरी जसपाले विगत २ दिनदेखि निषेधाज्ञालाई उलङ्घन गर्दै विरोध प्रदर्शनका कार्यक्रमहरु गर्न थालेको छ । जसपाले मंगलबार जिल्लाको प्रत्येक स्थानिय तहमा भिडभाड गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको थियो भने बुधबार मशाल जुलुस निकालेर संसद् विघटनको विरोध गरेको छ ।
दुवै दिनको विरोध कार्यक्रमहरुको तस्विर जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवले सेयर गरेका छन् । यादव पनि डीसीसीएमसीका पदाधिकारी हुन् ।
डीसीसीएमसीका पदाधिकारी र जिम्मेवारी व्यक्तिहरुबाटै निषेधाज्ञा उलङ्घन हुनथालेपछि त्यसको विरोध सुरु भएको छ । राजनीतिक क्रियाकलापका लागि छुट तर बिहान बेलुका काम गरेर छाक टार्नुपर्ने अवस्था भएकाका लागि निषेधाज्ञा भएको भन्दै स्थानीय प्रशासनको आलोचना भइरहेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले निषेधाज्ञाको समयमा कुनै पनि भेला, सम्मेलन र कार्यक्रम गर्न नपाइने बताए । उनले त्यस्ता कार्यक्रमलाई आफुहरुले रोक्ने प्रतिक्रिया दिएका छन् ।