२० जेठ, काठमाडौं ।
भारतले बालबालिकाहरुमा कोरोना खोपको परीक्षण सुरु गरेको जनाएको छ । भारतमै बनाइएको कोभ्याक्सिन खोपको परीक्षण मंगलबारबाट थालिएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार पटनाका १२ देखि १७ वर्ष उमेर समूहका तीन जना बालबालिकालाई परीक्षणको रुपमा खोप दिइसकेको र उनीहरू स्वस्थ रहेका छन् । एम्स अस्पतालका कोभिड इन्चार्ज डा. सन्जिव कुमारलाई उद्धृत गर्दै भारतीय मिडियाले आगामी महिना ५ सय २५ जना बालबालिकामा खोपको परीक्षण गरिने उल्लेख गरेका छन् ।
दोस्रो चरणमा पनि खोपको नकारात्मक असर नदेखिएमा तेस्रो चरणको खोप दिइने छ । त्यसको प्रभावकारिताको आधारमा खोप अनुमोदन गरिने छ ।
हालसम्म १८ वर्ष उमेरभन्दा माथिका लाई मात्र कोरोना खोप लगाउने गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललगायत भारतका नेताहरुले बालबालिकालाई पनि जतिसक्दो छिटो कोरोना खोप दिलाउनुपर्ने धारणा राख्दै आएका छन् ।