२५ गत्तेबाट ६० वर्षमाथिका नागरिकका लागि खोप अभियान सञ्चालन हुने

२० जेठ, काठमाडौं ।

सरकारले यही जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकका लागि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।

चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार मङ्गलबार मात्र चीनबाट नौ लाख हजार मात्रा ‘भेरोसेल’ खोप आएको र बुधबार थप एक लाख मात्रा तिब्बत सरकारबाट प्राप्त भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिन फिङ्बीच केही दिन अघिको टेलिफोन वार्ता भएपछि चीन सरकारले अनुदानमा खोप उपलब्ध गराएको हो । प्रवक्ता डा.पौडेलले खोपको दोस्रो मात्रा सुनिश्चित गरेर मात्र ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने बताए ।

उनले ज्येष्ठ नागरिकसँग चीनसँग सीमा जोडिएका जिल्लाका १८ वर्षभन्दा माथिका लागि पनि खोप दिइने जानकारी दिए । ६० देखि ६४ उमेर समूहका खोप लगाउने करीब आठ लाख जनसङ्ख्या रहेको छ ।

मन्त्रालयले खोप लगाउँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लिएर जान अनुरोध गरेको छ । नेपालमा खोपको पहिलो मात्रा २१ लाख १३ हजार ८० र दोस्रो मात्रा सात लाख १४ हजार १ सय ६३ जनाले लगाएका छन् ।

हालसम्म नेपालमा भारत सरकारको अनुदानमा कोभिसिल्ड १० लाख मात्रा र खरीद गरेर १० लाख मात्रा, चीनबाट यसअघि आठ लाख र कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप आएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here