२० जेठ, काठमाडौं ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूहरूले निर्वाचन आयोगमा बुझाउन बाँकी राजनीतिक दलसम्बन्धी नियमावलीको अनुसूची अनुरुपको फाराम बुझाउने बताएका छन् ।
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी नियमावलीको अनुसूची अनुरुप फाराम नभरिएको भन्दै निष्कासन सम्बन्धी आग्रह बुधबार खारेज गरेको थियो । त्यसपछि अध्यक्ष यादवले नियमावलीको अनुसूची अनुरुपको फाराम आफूहरूले नबुझाएको स्वीकारेका हुन् ।
‘सबै कागजात हामीले कानुन अनुरुप आयोगमा बुझाएका छौं । नियमावलीको अनुसूची अनुरुपको फाराम नबुझाएको सत्य हो । हामीले फाराम ल्याइसकेका छौं । आयोगले हामीलाई पत्र पठाए पनि÷नपठाए पनि हामीले छिटै बुझाउँछौं,’ अध्यक्ष यादवले प्रतिक्रिया दिए ।
यादवले आयोगमा अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो तथा कार्यकारिणी समिति सदस्यद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको पत्र मंगलबार पठाएका थिए ।
‘हाम्रो तर्फबाट छुटेको नियमावलीको अनुसूची अनुरुपको फाराम मात्रै हो । हामीले आधिकारिक रूपमा आवश्यक पर्ने माइन्यूटसहितका कागजात पठाएका छौं । कानुनी रूपमा हामी आधिकारिक छौं । फाराम भरेर पठायौं भने सदर हुन्छ भन्नेमा हामी ढुक्क छौं,’ अध्यक्ष यादवले भने ।
आयोगका सचिव सुरेश अधिकारीले यादवले पठाएको पत्रमा अन्य सबै कागजात भए पनि नियमावलीमा उल्लेख अनुसूची अनुरुपको फाराम नभरिएकाले खारेज गरिएको बताएका थिए । आयोगले अनुसूची अनुरुप फाराम भरेर पत्र पठाउन भन्दै पत्र पठाएको बताएको छ ।