२० जेठ, परासी ।
नेपाली फिल्म उद्योगका कलाकार प्रमोद अग्रहरीले नवलपरासीको अस्पताललाई अक्सिजन सहयोग गरेका छन् । उनले नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताललाई ३० थान अक्सिजन सिलिन्डर सहयोग गरेका हुन् ।
परासी युवा समूहको व्यवस्थापनमा उनले डा. मोहम्मद नुरुल होदालाई ती सिलिन्डर हस्तान्तरण गरेका थिए । महामारीबीच आफूले गरेको सहयोगले संक्रमितको जीवरक्षाका लागि सहयोग पुग्ने आस आफूले गरेको उनको भनाइ छ ।
यसअघि पल शाह, पुष्प खड्का, नाजिर हुसेनले अक्सिजन सिलिन्डर सहयोग गरिसकेका छन् । यसैबीच पर्दामा भिलेनको रुपमा प्रस्तुत हुने अभिनेता अग्रहरीले पनि अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग गरेका हुन् ।
अग्रहरी फिल्म पर्दामा डरलाग्दा भिलेनको रुपमा चर्चित छन् । उनले उमा, सुन्तली, संरक्षण, जाइरा, कथा काठमाण्डू जस्ता फिल्ममा अभिनय गरेका छन् ।