चुरे दोहन गरेर तराईलाई मरुभूूमि बनाउने षड्यन्त्र रोक्न देउवाको माग

१९ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुरे क्षेत्रलाई दोहन गरेर तराई–मधेशलाई मरुभूमि बनाउन षडयन्त्र फिर्ता लिनुपर्ने बताएका छन् । उनले बजेट वक्तव्यमार्फत् चुरे दोहन बढाउने गरी सरकारले नीति लिएको भन्दै तत्काल फिर्ता लिन माग गरेका हुन् ।

विगतमा चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गरिँदा पानीका स्रोत सुक्न थालेको, भू–क्षय बढेको र समग्रमा पर्यावरणमा गम्भीर असर परेको तथ्यलाई बिर्सेर सरकारले पुनः पुरानै गल्ती दोहो¥याएको देउवाले बताएका छन् ।

‘विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन सामान्य गल्ती होइन,’ बुधबार वक्तव्य जारी गरेर देउवाले भनेका छन्, ‘प्रकृतिविरुद्धको अपराध र देशको तराई–मधेश क्षेत्रलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षडयन्त्र हो ।’

नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले ‘राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति’ गठन गरेर चुरे क्षेत्रको दोहन रोक्न र चुरे संरक्षण गर्न मापदण्ड निर्धारण गरेको उनले स्मरण गराउँदै ढुंगा, गिटी, बालुवा उत्खनन र निकासीमा रोक लगाएको बताएका छन् ।

नीति र निर्णयलाई विस्थापित गर्दै ‘व्यापार घाटा न्यूनीकरण गर्न’ भन्ने नारा दिएर ढुंगा, गिटी र बालुवा निकासीको कार्यक्रम ल्याउनु ‘खरानीको व्यापार गर्न घर जलाए’ जस्तो मात्रै रहेको देउवाले जिकिर गरेका छन् ।

व्यापार घाटा न्यून गर्न या सन्तुलनमा ल्याउन तराई–मधेश र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम चाल्नु किमार्थ स्वीकार्य नहुने उनले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here