१९ जेठ, झापा ।
जबरजस्ती करणी गरेको आरोपमा झापाको अर्जुनधारा नगरपालिका ७ का एक किशोर पक्राउ परेका छन् ।
सोही स्थानकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।
किशोरलाई प्रहरीले मंगलबार बिहान घरबाटै पक्राउ गरेको हो । प्रहरीका अनुसार गत वैशाख १६ गते छिमेकी दाजु पर्ने ती किशोरले बालिकालाई ललाइफकाइ आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेका थिए ।
घटना भएको तीन दिनपछि मात्र बालिकाकी दिदीले थाहा पाइन् । गाउँभरि हल्ला हुने डरले छरछिमेक र पीडकका परिवार घटनालाई ढाकछोप गर्नतर्फ लागेको पीडित परिवारको भनाइ छ ।
बालिकाको परिवारको आर्थिक अवस्था कमजोर रहेकोले छरछिमेक र पीडकका परिवारले उल्टै परिवारजनमाथि दबाब दिएका थिए । छरछिमेकले दबाब दिँदा उनका आमाबुवा पनि केही बोल्न सकेनन् ।
करणी गर्ने ती किशोरलाई गाउँमा एक भेलाको आयोजना गरी पीडकका हजुरआमाले बालिकाको खुट्टा ढोगेर माफी माग्न लगाएर घटना सामसुम बनाएको स्थानीयबासीको दाबी छ ।
घटना भएको एक महिनापछि नगरपालिकाभित्रकै केही स्थानीय युवाले घटनाबारे थाहा पाएर घटनालाई प्रहरीसम्म पुर्याउने योजना बनाए । पीडित परिवारलाई संरक्षण दिएर ती युवाले प्रहरीसम्म लगेर किटानी जाहेरी दिन लगाए ।
पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा सोमबार दिउँसो किटानी जाहेरी दिएको डिएसपी थापाको भनाइ छ ।
प्रहरीमा किटानी जाहेरी परेपछि ती किशोरलाई मंगलवार पक्राउ गरिएको डिएसपी थापाले बताए ।