१९ जेठ, काठमाडौं ।
चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई दिइने भएको छ ।
देशभरका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । उनले भने, ‘चीनबाट प्राप्त हुने १० डोज खोपले यो उमेर समूहका नागरिकलाई लगभग पुग्ने विश्वास गरेका छौं ।’
चीनले अनुदानमा दिएको १० लाखमध्ये ९ लाख डोज नेपाल आइपुगेको छ भने बाँकी एक लाख आज काठमाडौं आइपुग्दैछ । मन्त्रालयका अनुसार ६० देखि ६४ वर्षका नागरिकको संख्या ८ लाख ५४ हजार छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलकाअनुसार भेरोसेल खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको छ ।
मन्त्रालयको तथ्यांकअनुसार ४ लाख ३५ हजार १ सय १२ जनाले कोभिसिल्ड र २ लाख ७९ हजार जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाइसकेका छन् । कोभिसिल्ड खोप लगाएका १३ लाख भन्दा बढी नागरिक दोस्रो डोजको पर्खाइमा छन्, तर खोप सुनिश्चित भएको छैन ।
भरोसेल पहिलो डोज लगाउने ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो डोजको सुनिश्चितता हुने गरी व्यवस्थापन डा. पौडेलले बताए ।