मधेशी उत्थानको विकल्पः यादव, ठाकुर र राउत !

– आशिष झा धोती

मधेशी नेता बीचको किचलो मधेशको टोल-टोलको, घर-घरको कथा हो। कुनै नौलो कुरा होइन।

एक-अर्कासँग निरन्तर बाझिरहने जात हो मधेशीको। सद्भाव,समन्वय र सहकार्यले सामुहिक स्तरोन्नति हुन्छ भन्ने मूलभूत विवेक नभएको जात हो मधेशीको।

धन्य नागढुङ्गाको त्यो पवित्र सीमा, जहाँ प्रविष्ट हुनासाथ, यादव होस् कि ठाकुर, सदा होस् कि अंसारी, “धोती/भैया” नामक साझा अभिवादनले राष्ट्रको सामाजिक, राजनीतिक वृत्तमा यिनको साझा औकात के हो, रिमाइंड गराइरहन्छ। हिफाजत मियाँ होस् कि चंदन पटेल, नीकु यादव होस् कि रोहण चौधरी, जब भुराबाल, बहुजन, हिंदु, मुस्लिम बीच कुनै किसिमको भेदभाव नगरी एकनासे क्रूरताले चलेको गोलीले टाउको र छाती छियाछिया बनाउँछ, तब यिनलाई यिनीबीच धेरै असमानता नरहेको अनुभूति हुन्छ। छोटकरीमा भन्नुपर्दा एउटा साझा समस्याले गर्दा एकै ठाउँ आउन बाध्य भएको जात हो मधेशीको।

जसरी भूकम्पले भूकम्प पीडितहरुको एउटा समूह खडा गर्छ, त्यसरी नै राज्यद्वारा बहिस्कार र राज्य-निकट समाजद्वारा तिरस्कारले जन्माएको एउटा भावनात्मक एकाई हो मधेशी। जसरी भूकम्प/बाढी-पीडितले हरेक दुर्घटना पश्चात सत्ता र दाताको मुख ताकेर मूल समस्या समाधान हुने होइन, त्यसरी नै मधेशले घडी नेपाल सरकारको त घडी भारतीय सहयोको भर परेर मुख्य मुद्दा समाधान हुने होइन।

स्थायित्वको लागि पीडित बीच निरन्तर एकता र सहकार्य अपरिहार्य हुन्छ। भावनात्मक एकतालाई सुदृढ राजनीतिक शक्तिमा परिवर्तित गर्नु अपरिहार्य हुन्छ। मधेशी दलितका नागरिकता अधिकार र समतामूलक समावेशीकरणको लडाई कुनै दिक्षित वा भट्टराईले लडिरहेका होइनन्, तिनै भूराबाल कहलिने मधेशी नेतृत्वले लडिरहेका हुन्। दिक्षित र भट्टराईले अझैसम्म खस-आर्य आरक्षणको बेजोड विरोध गरेको सुनिएको छैन। मधेशी भुराबालले भुराबाल आरक्षण मागेको सुन्नुभएको छ कहिल्यै?

एउटा मधेशी व्यक्तिले वर्दीवाला ठकुरीभन्दा वर्दिवाला ठाकुर/यादव/महतो सामु पक्कैपनि बेसी सुरक्षित महसुस गर्छ होला। मधेशी वर्दिवालाले धेरै भए लट्ठी ठटाउँछ होला। गोली पक्कैपनि ठोक्दैन होला। काठमाडौंका धूर्त मीडिया र केही थान नागरिक “फेयर वेदर फ्रेंड्स” को धृतराष्ट्र आलिंगनले मधेशभित्रको अंतरजातिय विभेद निर्मूल हुने होइन। मधेशी-मधेशी बीचको समन्वयले नै यसको स्थायी समाधान सम्भव छ।

गरौँला दिक्षित, भट्टराईहरुसँग पनि हातेमालो, तर पहिले तिनको हैसियत त प्राप्त गरिहालौँ। अहिलेको अवस्थामा मधेशी उत्थानको विकल्प यादव अथवा ठाकुर अथवा राउत होइन कि, यादव र ठाकुर र राउत हुन्। नेतृत्व र जनताले यो कुरा जति छिटो आत्मसात गर्छन् उति नै परिणाम मूलक होला। (झाको फेसबुकबाट लिइएको)

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here