ब्ल्याक फंगसबारे जान्नैपर्ने कुरा

१९ जेठ, काठमाडौं ।

कोरोना संक्रमणका कारण मानवजीवन कठिन भइरहेका बेला अब ब्ल्याक फंगसले समेत त्रास सिर्जना गरिरहेको छ । विशेषगरी संक्रमणमुक्त भएकाहरुमा म्युकोर्माइकोसिस (ब्ल्याक फंगस)को संक्रमण देखिएपछि मानिसहरु चिन्तित बनेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार काठमाडौं, वीरगञ्ज र बाँकेमा गरी एकदर्जन बिरामीमा ब्ल्याक फंगसको संक्रमण पुष्टि भइसकेको छ । जनस्वास्थ्यविदहरुले एक महिनाभित्रमा यो संक्रमण बढेर डेढ सयको संख्यामा पुग्ने चेतावनी दिइसकेका छन् ।

भारतमा १२ हजार भन्दा बढीमा कालो ढुसीको संक्रमण देखिएका छन् भने २ सयको मृत्यु भइसकेको छ ।

कालो ढुसीको संक्रमण बढ्दै जाँदा यो संक्रमण कसरी हुन्छ, कस्ता व्यक्तिहरुमा देखा पर्छन् ? लक्षण के हुन सक्छ ? यसको निदान के होला ? लगायतका बारेमा सर्वसाधारण नागरिकको चासो बढ्दो छ । नेपालमा कोभिड–१९ का संक्रमण वा संक्रमणमुक्त भएका बिरामीमा यसको संक्रमण देखिए पनि यसबाट मृत्यु भएको आधिकारिक पुष्टि भने सरकारले गरेको छैन । तर वीरगञ्ज र बाँकेका अस्पतालहरुमा यसको संक्रमण देखिएका बिरामीको मृत्यु भएको चिकित्सकहरु बताउँछन् ।

सर्वसाधारण नागरिकको यही चासो तथा जिज्ञासालाई सम्बोधन गर्ने प्रयास स्वरुप नाक, कान, घाँटीसम्बन्धी नेपालका विशेषज्ञ चिकित्सकहरूको संगठनका महासचिव एवं शिक्षण अस्पताल महाराजगञ्जका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. योगेश न्यौपाने को सुझावलाई प्रस्तुत गरेका छौं :

के हो ब्ल्याक फंगस ?
म्युकोर्माइकोसिस (ब्ल्याक फंगस) प्राकृतिक रूपमै हाम्रो वरपरको वातावरण र माटोमा पाइने एक प्रकारको ‘अवसरवादी’ ढुसी हो ।

सामान्य हिसाबमा दुर्लभ मानिने यो संक्रमण ओसिलो ठाउँमा हुने जोखिम बढी छ । जब मानिसको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ, त्यतिबेला यसको संक्रमण हुने जोखिम बढी हुन्छ । पछिल्लो समय नेपालमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण कोभिड–१९ संक्रमित वा संक्रमण मुक्त भएका व्यक्तिहरुमा देखिएका छन् । यो संक्रमण विरलै देखिन्छ, तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमै ध्यान पु¥याउनु आवश्यक छ ।

प्रारम्भिक लक्षण के–के हुन् ?
अनुहार, नाक, मुख, आँखा वरिपरि दुख्ने
आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने
नाकको वरिपरिको छालाको रंग कालो हुँदै जाने
नाकबाट रगत जस्तो तरल पदार्थ बग्ने
बाक्लो सिंगान आउने
आँखाको ढकनी सुनिने र दुख्ने, आँखाले धमिलो देख्ने
दाँत दुख्ने वा हल्लिने
टाउको भारी हुने
ज्वरो आउने
अचेत हुने, बरबराउने हुन्छ

कतिखेर अस्पताल भर्ना हुने ?
जुनसुकै उमेर समूहका मानिसमा कोलो ढुसीको संक्रमण हुनसक्छ । तर नेपालको सन्दर्भमा १८ देखि ६० वर्ष उमेर समूहमा देखा परेका छन् । कालो ढुसीका लक्षणहरु देखा परेमा नजिकैको अस्पताल जानुपर्छ ।

चिकित्सकहरुले आवश्यकता अनुसार परीक्षण गरेर यसको पहिचान गर्छन् । फङ्गल टेस्टदेखि लिएर एमआरआईमार्फत यसको परीक्षण गरिन्छ । परीक्षणमार्फत शरीरको कुन–कुन भागमा यसको इन्फेक्सन देखिएको छ सोही अनुसार चिकित्सकहरुले उपचार प्रक्रिया अगाडि बढाउँछन् ।

के छ उपचार विधि ?
यसको उपचारका क्रममा स्लाइनबाट दिने औषधि १० देखि १४ दिनसम्म दिनुपर्ने हुन्छ । त्यसपछि पोसाकोनाजोल नामक खाने औषधि बिरामीको अवस्था हेरेर एक डेढ महिनाका लागि दिइन्छ । कालो ढुसीको उपचारमा विशेषतः ‘एम्फोटेरिसिन बी’ इन्जेक्सन मार्फत औषधिको प्रयोग गरिन्छ ।

यो औषधि अनिवार्य हो । यो सँगसँगै सर्जरी गर्नुपर्छ । जुन–जुन अंगमा संक्रमण छ, उक्त ठाउँको सर्जरी गर्नुपर्छ । यसको संक्रमण विशेष गरी नाक, आँखा, साइन, मस्तिष्क लगायतको भागमा हुन्छ । आँखामा यसको संक्रमण गम्भीर भए नानी नै निकाल्नुपर्ने हुन्छ ।

कस्ता व्यक्तिलाई हुन सक्छ उच्च जोखिम ?
यो कुनै नयाँ रोग होइन । तर यो एकदम दुर्लभ संक्रमण हो । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । त्यसैले यो रोग सरुवा होइन । तर यो संक्रमण निकै गम्भीर हुन्छ, संक्रमण बढ्दै जाँदा यो प्राणघातक पनि बन्न सक्छ ।

यो रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर भएका अनियन्त्रित मधुमेह, अंगप्रत्यारोपण गरिएका बिरामी र क्यान्सरको उपचार गराइ रहेका बिरामी, कोभिड–१९ को उपचारको लागि अस्पतालमा भर्ना भएका र डिस्चार्ज भएका बिरामी, कोभिड–१९ उपचारका क्रममा स्टेरोइड औषधि प्रयोग गरेका व्यक्तिहरु, चिकित्सकको परामर्शविना एन्टिबायोटिक वा अन्य औषधिको जथाभावी प्रयोग गर्नेहरु, फोहोर, ओसिलो तथा हावा राम्रोसँग आउजाउ नहुने क्षेत्रमा बस्दा र शरीरमा पानीको मात्रा कम हुँदा लाग्ने सम्भावना बढी हुन्छ ।

के छन् रोकथामका उपाय ?
सफा र सुख्खा मास्क प्रयोग गर्ने,
डिस्पोजल मास्कको पुनः प्रयोग नगर्ने
नियमित रुपमा हात धुने वा सेनिटाइजर प्रयोग गर्ने
व्यक्तिगत सरसफाइमा ध्यान दिने
धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने
नुनिलो पानीले नाक सफा गर्ने
पोमिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने
मधुमेह भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने
स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने

कालो ढुसीले गराउने संक्रमणको सुरुवाती चरणको पहिचान र उपचार गर्ने विधिबारे चिकित्सकहरुलाई सहयोग पुर्याउने उद्देश्यले सरकारलाई एडभाइजरी जारी गर्न सहयोग गरिएको छ । सरकारले सोही एडभाइजरीको आधारमा प्रोटोकल तयार पार्ने र सार्वजनिक गर्ने तयारी गरेको छ ।

कालो ढुसीको उपचारमा प्रयोग हुने ‘एम्फोटेरिसिन बी’ औषधि नेपालमा अभाव छ । तत्काल नेपालमा यसको पर्याप्तता छैन । एन्टिफङ्गस औषधि ल्याउन सरकारले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)सँग समन्वय गरिरहेको र जून ५ तारिखभित्र यो औषधि आउने बताइएको छ । यसको उपलब्धता तत्काल हुनसके यसको संक्रमणबाट बिरामीलाई बचाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here