जसपा विभाजित हुँदै, ठाकुरसहित चार नेता पार्टीबाट निकालिए

१८ जेठ, काठमाडौं ।

निकै प्रयासपछि एक भएको हालको जनता समाजवादी पार्टी फेरि दुई समूहमा विभाजित हुने भएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेको छ ।

यादव समूहद्वारा पुरानो राष्ट्रिय जनता पार्टीका यी चार जनै निष्कासित भएसँगै जनता समाजवादी पार्टी फेरि पुरानै दुई धारमा अलग्गिने तय भएको हो ।

बालकुमारीमा बसेको कार्यकारिणी सभाको बैठकले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूलाई निष्कासन गरेको जनाएको छ ।

मंगलबार नै पार्टीबाट निष्कासन गरिएको बारे निर्वाचन आयोगमा पत्र पनि पठाइ सकिएको पार्टी स्रोतले जनाएको छ ।

यस अघि जेठ ८ मा यादव समूहले पार्टीको विधान विपरित काम गरेको भन्दै चार जनै नेतासित स्पष्टीकरण माँगेको थियो । त्यसको जवाफमा ठाकुर समूहले पनि पार्टीको मर्म विपरित काम गरेको भन्दै उपेन्द्र यादवसित स्पष्टीकरण माँगेको थियो ।

दुबै समूहको जवाफ नआएपछि दुबै समूहले दोहोर्‍याएर फेरि एक अर्कासित स्पष्टीकरण माँगेको थियो । जेठ १५ मा दुबै समूहले एक अर्कासित स्पष्टीकरण माँग्दै २४ घण्टाभित्र जवाफ नआए पार्टीबाट निष्कासन गर्ने चेतावनी पनि दिएको थियो ।

यादव समूहद्वारा ठाकुर सहितका चार नेतालाई निष्कासन गरिएपछि ठाकुर समूहको प्रतिक्रिया भने आउन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here