महतो र ठाकुर गुटलाई केही सुझाव

–राकेश मिश्रा

माननीय महन्थ ठाकुर र राजेन्द्र महतोसहित जसपाको एक गुटलाई मेरा केही सुझाव छन् । हुन त वहाँहरुले माग्नुभएको होइन तर नागरिकको हैसियतले मेरा सुझाव यहाँ राख्न चाहन्छु ।

मलाई थाहा छ र म स्वीकार्छु यहाँहरु राजनीतिक परिस्थिति र बाध्यतालाई मभन्दा नजिकबाट बुझ्नुहुन्छ । सत्ता र सडक दुवैतिर संघर्ष गर्न सकिन्न । मलाई थाहा छ, यही संविधानअनुसार चुनावमा भाग लिएर तपाईंहरुले संघर्षको बाटो केही दिनका लागि छाडिसक्नुभएको छ ।

तर सत्तासँगको ‘बार्गेनिङ’ मा केही उधारो त चुक्ता गराउन सकिन्छ नै । कुनै खास परिस्थितिमा यदि सरकारमा सहभागी भएर ‘सफ्ट पावर’ बढाउन सकिन्छ भने त्यो गर्नु उपयुक्त हुन्छ । तर मुद्दा विसर्जन वा ‘सेफ ल्यान्डिङ’ को लागि यसो गरिए त्यो अनैतिक ठहरिन्छ ।

सरकारमा सहभागी हुनुअघि तपाईंहरुले सरकार र सत्ताधारी केपी शर्मा ओलीसँग निम्न विषयमा सार्वजनिक सहमति गर्नु आवश्यक देख्छु । एउटा निश्चित समसयम्म यदि यी माग पुरा भएनन् भने संविधानलाई पूर्ण रुपमा अस्वीकृत गरी संघर्षको बाटो रोज्ने सार्वजनिक प्रतिबद्धता गर्नुस् ।

१. माननीय रेशम चौधरीसँगै सबै मधेसी–थारु कार्यकर्तालाई प्रक्रियाअनुसार तीन महिनाभित्र रिहा गरियोस् ।

२. यहाँहरु सरकारमा सहभागी हुनु अगावै संविधान पुनरावलोकन कार्यदलको स्पष्ट कार्यादेश बनोस् । जसमा प्रदेशको पुनर्सीमांकन, प्रदेशलाई पूर्ण स्वायत्तता एवं वैवाहिक अंगिकृत नागरिकलाई समान अधिकार दिइने विषय समावेश होस् ।

३. दुवै दलले गठनबन्धन बनाएर चुनाव लड्नुस् र दुई तिहाइ बहुमतको लक्ष्य राखी अन्य दलसँग सहकार्य गरी कार्यदलको सुझावअनुसार चुनाव भएको दुई महिनाभित्रै संविधान संशोधन गर्नुस् ।

४. तपाईंहरु सरकारमा सहभागी हुनु अगाडि नै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने अडान राख्नुस् । त्यसैअनुसार चुनाव अघि नै उक्त प्रतिवेदनले दोषी ठहर गरेकाहरुमाथि कारवाही प्रक्रिया सुरु गरियोस् ।

५. वर्तमान सरकारले लोकतान्त्रिक प्रक्रियाबाट निष्पक्ष चुनाव हुने प्रतिबद्धता व्यक्त गरोस् ।

६. सरकारी एवं राजनीतिक नियुक्तिमा समानुपातिक समावेशी नियुक्ति हुने कुराको लागि अध्यादेश ल्याएरै भए पनि तत्कालै ग्यारेन्टि होस् ।

बाँकी अन्य विषय त यहाँको इच्छा हो । विगतझैंं देखावटी सम्झौता गरेर उपेन्द्र यादवजसरी सत्तासुख भोग्ने की के गर्ने यहाँको विषय हो । हामी नागरिक त केवल नेताले गरेका काम याद राख्छौँ । (मिश्राको फेसबुक पोस्टको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here