सुतिरहेको अवस्थामा आगो लगाइएकी लक्ष्मीको उपचार खर्च सरकारले व्योहोर्ने

१८ जेठ, डोटी ।

सुतिरहेको अवस्थामा आगो लगाउँदा जलेर घाइते भएकी डोटीको आदर्श गाउँपालिका–४ रोडीकी लक्ष्मी भाट र उनकी छोरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी आगोले जलेर गम्भीर घाइते भएकी लक्ष्मीको उपचारमा लाग्ने सम्पूर्ण उपचार खर्च बेहोर्ने जनाएको हो । यसैगरी घटनामा संलग्न उनका श्रीमान सन्तोष भाटलाई कानून बमोजिम कडाभन्दा कडा कारबाही गरिने पनि मन्त्रालयले बताएको छ ।

जेठ १२ गते राति सुतिरहेको अवस्थामा श्रीमान सन्तोषले प्रज्वलनशील पदार्थ छर्किएर आगो लगाइ २८ वर्षीया लक्ष्मीलाई गम्भीर घाइते बनाएका थिए । आगोले आधाभन्दा बढी जलेकी लक्ष्मीलाई उपचारका लागि दिपायल राजपुरस्थित सुजंग अस्पतालमा ल्याइएको थियो ।

अस्पतालले सोही दिन उनको उपचार सम्भव नभएको भन्दै बाहिर लैजान भनेको थियो । तर आर्थिक अभावका कारण आफन्तहरुले उनलाई अन्यत्र लैजान सकेका थिएनन् ।

सोमबार वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा लक्ष्मीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । उनको अहिले काठमाडौंको कीर्तिपुरस्थित क्लेफ्ट एण्ड बर्निङ सेन्टरमा भइरहेको छ ।

घटनापछि लक्ष्मीका श्रीमान् सन्तोष फरार छन् । उनीविरुद्ध लक्ष्मीका दाइले आइतबार प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here