लुम्बिनी उपनिर्वाचनमा पाण्डेय विजयी

१७ जेठ, दाङ ।

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् ।

कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन पाएका पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका छन् ।

पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ १ सय १८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनमा प्रदेशसभा सदस्य ८३ र स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १३ गरी २ सय ९६ मत खसेको थियो । प्रदेशसभा र स्थानीय तहतर्फका १÷१ मत बदर भएको थियो ।

पाण्डे प्रदेशसभाको २ हजार १६ र स्थानीय तहको २ हजार १२४ गरी कूल ४ हजार १ सय ४० मतभारसहित विजयी भएका छन् । खड्काले प्रदेशसभाको १ हजार ९ सय २० र स्थानीय तहको १ हजार ६ सय ९२ गरी कूल ३ हजार ६ सय १२ मतभार प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ ।

विजयी पाण्डेय हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए । उनी माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार बनेका थिए । खड्कालाई जसपाको महन्थ ठाकुर पक्षको साथ थियो ।

राष्ट्रियससभा सदस्य चन्द्रबहादुर खड्का माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए । उक्त पदमा भएको उपनिर्वाचनमा एमालेबाट खड्का नै उम्मेदवार थिए भने विपक्षी गठबन्धनको समर्थनमा कांग्रेसले पाण्डेयलाई उम्मेदवार बनाएको थियो ।

२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा पाण्डेय एमालेको तर्फबाट कपिलवस्तु २ (१) बाट निर्वाचित भएका थिए । गत वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर पुनः नियुक्त भएपछि पाण्डेयले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका थिए ।

सोही दिन कांग्रेस प्रवेश गरेका उनलाई विपक्षी गठबन्धनले राष्ट्रिय सभा उपनिर्वाचनको साझा उम्मेदवार बनाएका थिए ।

राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेशसभाका ८३ सांसदमध्ये नेकपा एमालेका उम्मेदवार खड्काले ४० मत मात्र पाउनुले प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेको पुुष्टि भएको कांग्रेसका सांसद फखरुद्दिन खानले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here