प्रदेश नं. २ : संक्रमण र मृत्युदर उच्च, परीक्षण कम

१७ जेठ, जनकपुरधाम ।

पहिलो लहरको कोरोना कोरोना महामारीको समयदेखि नै प्रदेश नं. २ मा संक्रमणदर र मृत्युदर दुवै धेरै देखिएको थियो । तर परीक्षण भने कम छ । प्रदेशमा रहेका अनुमानित ६० लाख जनसंख्यामध्ये हालसम्म २ दशमलव ९८ प्रतिशतले हुन आउने संख्यामा मात्रै पीसीआर परीक्षण गरिएको छ ।

जानकारहरुका अनुसार भारतीय सीमासँग जोडिएको र घना वस्ती रहेको प्रदेशमा यति कम संख्यामा परीक्षण गरेर कोरोना न्यूनीकरण गर्न कठिन छ । १३ जेठमा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको पछिल्लो अवस्थाबारे जानकारी लिन बोलाएको सरोकारबलाहरुको बैठकमा प्रदेशमा हालसम्म भएको कोरोना परीक्षणको तथ्यांक माग गरेपछि यो तथ्यांक सार्वजनिक भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयको आइतबारसम्मको तथ्यांक अनुसार कुल १ लाख ८२ हजार ४ सय २३ जनाको कोरोना परीक्षण भएको छ । यसमध्ये आइतबारसम्म ३२ हजार ३ सय ७२ जनामा संक्रमण देखिएको छ । यसमध्ये ६ सय ७० जनाको मृत्यु भएको छ ।

प्रदेश २ मा पछिल्ला दिनमा कोरोनाको परीक्षण झनै घट्दै गएको छ । पहिले १ हजारभन्दा बढीसम्म परीक्षण हुँदै आएको प्रदेशमा अहिले दैनिक केवल ८ सय जनासम्मको परीक्षण हुने गरेको निर्देशनालयले जनाएको छ ।

परीक्षण घटेसँगै संक्रमित पनि घटिरहेको देखिन्छ । पछिल्लो समयमा परीक्षण कम भइरहेको स्वीकार्छन् प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा । परीक्षण कम भइरहेकाले नै संक्रमित पनि कम देखिइरहेको उनको दाबी छ । ‘केही दिनअघिसम्म दैनिक ५ सयसम्म संक्रमित पुगिरहेको थियो,’ उनी भन्छन्, ‘अहिले आधा भएको छ । सँगै परीक्षण पनि घटेको छ । परीक्षण नभए घटेको भन्न मिल्दैन ।’

त्यसो त प्रदेशमा आफै परीक्षण गर्न आउनेको संख्या पनि अत्यन्त कम छ । झा भन्छन्, ‘घर घरमा बसेर संक्रमण फैलाइरहेका छन् । जबसम्म परीक्षण हुँदैन तबसम्म कहाँको अवस्था के छ भन्ने कुरा बुझ्न कठिन छ । तर यहाँ लक्षण देखिए पनि कोही पनि आफै परीक्षण गर्न आउँदैनन् ।’

झा प्रदेश २ को परीक्षण दर पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पूरा भएको बताउँछन् । ‘विश्व स्वास्थ्य संगठनले कम्तीमा २ प्रतिशत जनसंख्याको परीक्षण गराउन भनेको छ,’ उनी भन्छन्, ‘हामी सही दिशामै छौं । तर ओभर कन्फिडेन्स भएका छैनौं । परीक्षण अझै बढाउनैपर्छ ।’

प्रदेश सरकारका स्वास्थ्य विज्ञ समेत रहेका मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह प्रदेशमा संक्रमण घट्न थालेको बताउँछन् । ‘तथ्यांकमा त भन्न सक्दिनँ तर, पछिल्लो समयमा संक्रमित घट्न थालेको देखेको छु,’ उनी भन्छन्, ‘तर यसको मतलव यो होइन कि परीक्षण नगरियोस् ।’

परीक्षण बढाउनुपर्नेमा संघीय सरकारको पोलिसी नै अर्कै रहेको उनी बताउँछन् । केन्द्रबाट बनेको गाइडलाइनले नै परीक्षणको दायरालाई कमजोर बनाएको देखिएको उनी बताउँछन् । गत बर्ष झैं कन्ट्याक्ट ट्रेसिङ्ग गरेर परीक्षण गर्नुपर्नेमा अहिलेको गाइडलाइनले त्यो कुरा नबोलेको बताउँछन् उनी ।

घर–घर पुगेर परीक्षण गरिने
प्रदेशका जनता नै परीक्षण गराउन नमानिरहेको प्रदेश सरकारको स्वास्थ्य निकाय बताउँछ । स्वास्थ्य निर्देशनालयका निर्देशक झा रुघाखोकी लाग्दा, ज्वरो लाग्दा तथा कोरोनाका अन्य लक्षण देखापर्दा पनि सर्वसाधारण घरमै बस्ने गरिएका कारण पनि परीक्षण धेरै हुन नसकेको बताउँछन् ।

‘मान्छे जतिलाई परीक्षण गराउनुपर्ने हो उनीहरुले नै गराइरहेका छैनन् । रुघाखोकी लागे, खोकी, नकाबाट पानी आए, दम फुल्दा समेत घरमै बस्ने गरेको पाइएको छ,’ उनी भन्छन्, ‘हुन सक्छ कोरोना नभएर अर्कै बिमारी होस् । तर जाँच गराउँदा के हुन्छ ? तर मानिरहेका छैनन् ।’

सर्वसाधारण नआएपछि उनीहरुकै घरदैलोमा गएर परीक्षण गर्न लागिएको उनले जानकारी दिए । ‘परीक्षणको दायरा बढाउनकै निम्ति अब हामी समुदायमा जान लागेका छौं,’ उनी भन्छन्, ‘स्थानीय जनप्रतिनिधीको सहयोगमा शंकास्पद सबैको जाँच गरिनेछ ।’

समुदायमा गएर एन्टिजेन परीक्षण गरिने उनले बताए । यसका निम्ति २ लाख किट केन्द्रबाट आइसकेको उनले बताए । पिसिआरजस्तै क्षमता भएको यो किट मार्फत् १५ मिनेटमै परीक्षण गरी संक्रमितलाई तत्कालै आइसोलेट गर्ने योजना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here