‘हाइब्रिड भेरिएन्ट’ भेटिएपछि भियतनाममा सिंगो सहरको कोरोना परीक्षण गरिने

१७ जेठ, काठमाडौं ।

कोरोनाभाइरसको नयाँ भेरियन्ट देखिएको पूर्वी एसियाली मुलुक भियतनामले देशको सबैभन्दा बढी जनसंख्या भएको सहर हो ची मिन्हका सबै मानिसको कोरोना परीक्षण गर्ने भएको छ ।

भियतनामका सरकारी सञ्चारमाध्यमहरूका अनुसार सोमबारदेखि हो ची मिन्हमा दुई हप्ताका लागि सामाजिक दूरी कायम गर्नु पर्ने नियम लगाइएको छ । यही बेला सरकारले सबै नागरिकको कोरोना परीक्षण गर्न लागेको हो ।

सहरमा १ सयभन्दा बढी नयाँ संक्रमित फेला परेपछि यस्तो निर्णय गरिएको बताइएको छ । यसअघि भियतनामका अधिकारीहरूले आफ्नो देशमा इन्डियन र युके भेरियन्ट दुबैको विशेषता भएको नयाँ भेरियन्ट फेला परेको बताएका थिए ।

भियतनामका स्वास्थ्य मन्त्री एनगुयन थान्ह लोङले उक्त भेरियन्टमा इन्डियन भेरियन्टजस्तो तीव्र म्युटेसन हुने र युके भेरियन्टजस्तो बढी घातक हुने दुबै विशेषता रहेको बताए । यो भेरियन्टको हावाका माध्यमबाट छिटो फैलिने भएकाले निकै खतरनाक रहेको उनको भनाइ छ । खुला ठाउँमा पनि हावाबाट फैलिने हो कि बन्द कोठाभित्र फैलिने हो भन्नेबारे उनले केही खुलाएका छैनन् ।

भियतनाममा अहिलेसम्म ७ हजार १ सय मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने ४७ जनाले ज्यान गुमाएका छन् । गत अप्रिलयता त्यहाँ नयाँ भेरियन्टको भाइरस फैलिइरहेको छ ।

भियतनाममा यसअघि भाइरसका ४ वटा युके भेरियन्ट र तीन वटा इन्डियन भेरियन्ट फेला परेका थिए । स्वास्थ्य मन्त्री लोङले छिटै नयाँ भेरियन्टको जिनम डाटा प्रकाशन गर्ने बताएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अधिकारीहरूले भने भियतनाममा भेटिएको नयाँ भेरियन्टबारे अध्ययन भइनसेको र त्यहाँ रहेको आफ्नो कार्यालयले सरकारी अधिकारीसँग मिलेर काम गरिरहेको जनाएको छ ।

भियतनाममा भेटिएको भेरियन्ट यसअघि भारतमा भेटिएको बी.१.६१७.२ भेरियन्ट भएको र त्यहाँ बढी संक्रामक देखिएको हुन सक्ने डब्लुएचओका अधिकारीहरूको अनुमान छ । (एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here