भियतनाममा भेटियो नयाँ स्वरुपको कोरोना भाइरस

१६ जेठ, काठमाडौं ।

भियतनाममा कोरोना भाइरसको नयाँ स्वरूप फेला परेको छ । भियतनामका स्वास्थ्यमन्त्री भीएन टान लाँगले शनिबार कोरोना भाइरसको नयाँ स्वरुप फेला परेको बताएका हुन् ।

समाचार संस्था रोयटर्सका अनुसार भियतनाममा भारत र बेलायतको ‘मिश्रित स्वरूप’ भेटिएको हो । त्यस्तै भियतनामी अनलाइन भीएन एक्सप्रेसले उक्त स्वरूपको भाइरस तीव्र रुपमा हावामार्फत फैलिने दाबी गरेको छ ।

‘जिन सिक्वेन्सिङमार्फत कोरोना भाइरसको नयाँ स्वरूप भारत र बेलायतमा भेटिएको भाइरसको मिश्रित रूप भएको पत्ता लागेको छ,’ स्वास्थ्यमन्त्री लोङले भने । उनले नयाँ स्वरूपको कोरोना भाइरस मूल रूप बेलायती स्वरूपको भएको र त्यसपछि भारतीय स्वरूपमा उत्परिवर्तित भएको बताएका छन् । उनले नयाँ स्वरूपको भाइरसका बारेमा छिट्टै विश्व स्वास्थ्य संगठनलाई जानकारी दिने पनि बताए ।

यसअघि भियतनाममा सात वटा भेरियन्टका कोरोना भाइरस भेटिएको थियो । भियतनाममा बी.१.२२२, बी.१.६१९, डी६१४जी, बी.१.१.७(यूके भेरियन्ट), बी.१.३५१ र बी.१.६१७.२(इन्डियन भेरियन्ट) भेटिएको थियो ।

गत वर्ष कोरोना महमारी रोकथाम र नियन्त्रणमा सफल भएका मुलुकमध्ये भियतनाम पनि एक थियो । तर पछिल्लो समय भने भियतनाममा तीव्र रुपले कोरोना फैलिइरहेको छ । गत अप्रिलयता मात्रै भियतनामका ६३ सहरमध्ये ३१ मा करिब ३ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको छ । जुन संख्या भियतनाममा अहिलेसम्म पुष्टि भएको संक्रमितको कुल संख्याको आधाभन्दा बढी हो ।

जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार भियतनाममा अहिलेसम्म ६ हजार ७ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै भियतनाममा अहिलेसम्म ४७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । (एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here