ओखलढुंगामा संक्रमितको शव व्यवस्थापन चुनौतीपूर्ण

१६ जेठ, ओखलढुंगा ।

गएको पाँच दिनमा कोभिड संक्रमणको कारण जिल्लामा ५ जनाकै मृत्यु भएको छ । तर शव व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

कुनै पनि स्थानीय तहले शव व्यवस्थापन स्थल टुंगो लगाउन सकेका छैनन् । मिसन अस्पतालमा शनिबार मृत्यु भएका दुईमध्ये एक जनाको शव १२ घण्टा बित्दा पनि आइसोलेसन वार्डमै छ । शवको सदगद आइतबार मात्रै हुने जनाइएको छ । आइसोलेसन वार्डमै शव राख्दा अन्य बिरामीलाई मानसिक रुपमा असर परेको अन्य संक्रमित र आफन्तको गुनासो छ ।

‘यत्रो राज्यका निकाय छन् । कोभिडले मृत्यु भएको मान्छेको व्यवस्थापन गर्ने प्रणाली छ । तर शव गन्हाउन थाल्दासमेत बाहिर लगिएको छैन,’ आइसोलेसन वार्डमै रहेका एक संक्रमितका आफन्तले भने, ‘कतिपय गम्भीर अवस्थाका बिरामी छन् । यस्तो लापर्बाहीले अरु बिरामीको मनोबल कस्तो होला ?’

कोभिडका कारण मृत्यु भएकाको शव अस्पतालको शवगृहमा लान नसकिने अस्पताल प्रशासनले जनाएको छ । अर्को वार्ड भएर शवगृहमा लानुपर्ने भएको कारण त्यहाँबाट निकाल्न नसकिएको अस्पतालको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी वन्दना राईले शव गाड्नका लागि स्थान नपाइएकोले समस्या भएको बताइन् । ‘सिद्धिचरण नगरपालिका र नजिकका अन्य स्थानीय तह सम्म ठाउँ खोजियो कतै शव गाड्नका लागि स्थानीयले कतै पनि दिएनन्,’ प्रमुख जिल्ला अधिकारी राईले भनिन्, ‘जलाउन चाहिँ दिने भएपछि दाउरा खोज्न समय लाग्यो । अहिले दाउरा तयार भइसकेको छ तर समय भएन । त्यसैले भोलि बिहानै शवको सदगद गर्ने तयारी छ ।’

शनिबार मृत्यु भएका अर्का एकजनाको शव उनको गाउँले र आफन्तले सदगद गर्ने ठाउँ व्यवस्था गरेपछि सहज भएको छ । अन्यको हकमा चुनौती थपिएको हो । मृतकका आफन्तले शव सेनाले सदगद गरिदिन आग्रह गरेका छन् ।

कोभिडको कारण मृत्यु भएकाको शव व्यवस्थापन गर्ने कार्यविधिअनुसार स्थानीय तहले स्थान निश्चित गर्नुपर्ने व्यवस्था छ । तर हालसम्म स्थानीय तहले उपयुक्त ठाउँ तोक्न नसक्दा समस्या भएको हो ।

जलाउनका लागि स्थानीयवासी सहमत भएपछि केही सामुदायिक वनले दाउरा व्यवस्था गरिदिने सहमतिमा मिसन अस्पताल नजिकैको लिपे खोलामै जलाउने स्थलको रुपमा टुंगो लागेको प्रजिअ राईले बताइन् ।

संक्रमितका आफन्त तथा जिल्लाका सरोकारवालाहरु स्थानीय तह, प्रशासन र नेपाली सेना सबैको कमजोरी भएको आरोप लगाउँछन् । ‘सेनालाई सुविधायुक्त स्थल र सबै पूर्वाधार तयार गरिदिनुपर्ने, प्रशासन र स्थानीय तहले शव व्यवस्थापन गर्ने ठाउँसम्म टुंगो लगाउन नसक्ने ?’ बिरामीका एक आफन्तले भने, ‘यो सरासर लापर्बाही हो ।’

यसअघि पनि कोभिडकै कारण मृत्यु भएकी एक महिलाको शव सेनाले राम्रोसँग नगाडेको भन्दै विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here