निरज यादव/प्रदेशपालिका
१५ जेठ, सर्लाही ।
जिल्लाको विष्णु गाउँपालिका–७ दुलबाकी मुसहर समुदायकी एक युवतीलाई सोही ठाउँका सिबा राय यादबले विवाह गर्ने भन्दै उनको घरबाट भगाइ अलपत्र बनाएका छन् ।
यादवले ती युवतीलाई २० दिन आफूसँगै राखेर घुमाए पनि पछि अलपत्र छाडेको युवतीले बताएकी छन् । अन्तिममा युवतीलाई दलित भन्दै विवाह गर्न नसक्ने बताइ ती युवक फरार भएका छन् । युवतीले भने विवाह गर्न भनी घर छाडेर आइसकेपछि फेरि फर्केर नजाने भन्दै युवककै घरमा बसिरहेकी छन् ।
तर युवकका घरका मान्छेले युवतीलाई गोठमा राखिरहेका छन् । युवकका परिवारले दलित युवतीलाई बुहारीका रुपमा स्वीकार्न नसकिने भन्दै छुट्टै गोठमा राखेका छन् । युवतीले भनिन्, ‘मलाई विवाह गर्छु भनेर शिवाले घरबाट लिएर गए । यहि भन्दै ती उनले शारीरिक सम्बन्ध पनि राखे । २० दिनसम्म कहिले को आफन्त कहिले कता राखी अन्तिममा मलाई तल्लो जातको भएकोले मेरो परिवारले तिमीलाई स्वीकार गर्दैन भनी घर नजिक राखेर भागे ।’ उनले आफू अब फर्केर माइत नजाने बताइन् ।
यता यादव परिवारले भने युवतीलाई बुहारीका रुपमा अस्वीकार गरेपछि गाउँमै पञ्चायत बसेको थियो । तर शिवा सम्पर्कमा नआएसम्म उनको परिवारले जिम्मा लिन नमानेपछि युवकका परिवारले छिमेकीको गाई गोठमा बाँधेर राखेका छन् । उनले छोएको खान नसकिने भन्दै युवतीलाई गोठमा एक्लै राखिएको र त्यहीँ खाना दिने गरिएको छ ।