सञ्चालकमाथि यौन हिंसाको आरोप लागेपछि गुम्बाबाट ९ बालबालिकाको उद्धार

१५ जेठ, धनगढी ।

कैलालीमा यौन हिंसाको आरोपमा पक्राउ परेका गुम्बाबाट ९ बालबालिकाको उद्धार गरिएको छ । जिल्लाको गोदावरी नगरपालिका–२ वनखेतस्थित अहिंसावादी विश्वशान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षक गणेश मोक्तान लामाले आफ्नै गुम्बाका बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो ।

उक्त गुम्बामा बस्दै आएका ६ बालिकासहित ९ बालबालिकाको उद्दार गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलाली र बाल हेल्प लाइन धनगढीले संयुक्त रुपमा उनीहरुको उद्धार गरेको बताइएको छ ।

बाल हेल्प लाइन धनगढीका प्रमुख हरिलाल चौधरीले ६ बालिका र ३ जना उनीहरुका भाइको उद्दार गरिएको जानकारी दिए । उनीहरुलाई अहिले शान्ति पुनर्स्थापना केन्द्रमा राखिएको छ ।

गुम्बाका सञ्चालक लामाविरुद्ध मुद्दा दर्ता भइसकेको छ । गुम्बामा रहेका बालिकामाथि यौन हिंसा गरेको आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ परेका लामाविरुद्ध बाल यौन दुर्व्यवहारको मुद्दा शुक्रबार दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

गुम्बामा आश्रित दुई जना बालिकाका अभिभावक र एकजनाको तर्फबाट शान्ति पुनस्र्थापना केन्द्र धनगढीले लामाविरुद्ध किटानी जाहेरी दिएका थिए । सोहीअनुसार मुद्दा दर्ता गरेर अदालतबाट म्याद थप गर्दै उनीमाथि अनुन्धान थालिएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए ।

गुम्बामा रहेका केही बालिकाले संरक्षक लामाले आफूहरुमाथि यौन हिंसा गरेको सार्वजनिक रुपमा बताएपछि बिहीबार प्रहरी टोली गुम्बामा पुगेको थियो । २०६५ सालमा स्थापित उक्त गुम्बामा लामाले आश्रित बालबालिकालाई पढाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here