ललितपुर महानगरलाई विध ल्याबले दियो २ सय अक्सिजन सिलिन्डर

१५ जेठ, ललितपुुर ।

विध म्यानेजमेन्टले कोरोना भाइरस महामारीमा अक्सिजनको चरम अभाव भइरहेको बेलामा ललितपुर महानगरपालिकालाई २ सय थान अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको छ ।

अत्यावश्यक अक्सिजन अभावका कारण कुनै कोरोना संक्रमितले मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यले अक्सिजन सहयोग गरेको विध म्यानेजमेन्टका सञ्चालक भीमकान्त भण्डारीले जानकारी दिए ।

अक्सिजन सिलिण्डर बिहीबार महानगरपालिकाको कार्यालयमा भएको एक कार्यक्रमका बीच नगरप्रमुख चिरिबाबु महर्जनलाई हस्तान्तरण गरिएको छ । १० लिटर क्षमताको २ सय वटा अक्सिजनसहितको सिलिण्डर आवश्यकताअनुसार ललितपुर महानगर, ललितपुरका अन्य स्थानीय तह तथा काठमाडौँ उपत्यकाका अन्य स्थानीय तह तथा स्वास्थ्य संस्थामा उपलब्ध गराउन सक्ने समझदारी भएको भण्डारीले जानकारी दिए ।

व्यक्तिगत पहलमा ल्याबले खरिद गरेर ल्याएको सिलिण्डर आवश्यक परेमा महानगरलाई थप सिलिण्डर उपलब्ध गराउने सहमति पनि भएको भण्डारीले जानकारी दिए । कोभिड–१९ संक्रमण पूर्ण नियन्त्रण भएपश्चात महानगरपालिकालाई आवश्यक परेको खण्डमा पुनः परिचालन गर्न सक्ने गरी ल्याबले फिर्ता लैजाने समझदारी भएको महानगरपालिकाले जनाएको छ ।

समझदारीपत्रमा ललितपुर महानगरपालिका तर्फबाट प्रमुख महर्जन र बिध ल्याबको तर्फबाट अध्यक्ष भण्डारीले हस्ताक्षर गरेका छन् । महानगर क्षेत्रभित्र होम आइसोलेनसमा रहेको संक्रमितलाई बिध ल्याबले स्वास्थ्य सेवा पुर्याउने विषयमा पनि दुई पक्षबीच समझदारी बनेको ल्याबका अध्यक्ष भण्डारीले जानकारी दिए ।

गत साउन १३ गते लाइसेन्स पाएर साउन १५ गतेदेखि सञ्चालनमा आएको बिध म्यानेजमेन्टले यस अघि पनि विभिन्न सरकारी अस्पताल एवं स्थानीय सरकारलाई सहयोग गर्दै आएको थियो । निजी क्षेत्रमा हुने कोरोना परीक्षणमध्ये अहिले सबैभन्दा बढी परीक्षण गरेको दाबी गर्ने बिध ल्याबले यस अघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई गत २९ वैशाखमा दुई हजार २४ थान एक्सट्रयाक्सन किट सहयोग गरेको थियो । एक्सट्रयाक्सन किट अभावका कारण पीसीआर परीक्षण नै बन्द गर्नु परेको बेलामा ल्याबले किट सहयोग गरेर भोलिपल्टैदेखि सेवा सुरु गरेको थियो ।

यसबाहेक अभावको बेलामा आफ्नै पहलमा विदेशबाट स्वास्थ्य सामग्री आयात गरेर विभिन्न ठाउँमा पठाएर सरकारलाई सहयोग गरेको पनि ल्याबले जनाएको छ ।

सुरुदेखि नै अन्य प्रयोगशालामा भन्दा कम शुल्कमा पीसीआर परीक्षण गरेको दाबी गर्ने ल्याबले फागुन ५ गते सरकारबाट ‘ए’ ग्रेडको मान्यता पाएको छ । ल्याबले सुरुवाती दिनमा दैनिक ४ हजार परीक्षण रिपोर्ट दिने गरेको भए पनि अहिले दैनिक १० हजार पीसीआर रिपोर्ट दिने क्षमता बनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here