संक्रमितलाई होम आइसोलेसनमै परामर्श सेवा

१५ जेठ, म्याग्दी ।

जिल्लाका कोरोना सङ्क्रमितलाई होम आइसोलेसनमै परामर्श सेवा दिन थालिएको छ । स्थानीय तहले सङ्क्रमितको मनोवल बढाउन नियमित भेट, परामर्श र औषधि वितरण गर्न थालेका हुन् ।

स्वास्थ्यकर्मीले नियमित रुपमा स्वास्थ्य सम्बन्धी परामर्श दिन थालेपछि सङ्क्रमण जित्न सहज भएको सङ्क्रमितहरुले बताएका छन् । जिल्लाका ६ वटै स्थानीय तहमा कोरोना सङ्क्रमितकै घरदैलोमा स्वास्थ्यकर्मीसहित जनप्रतिनिधि पुग्ने र परामर्श तथा औषधि वितरण गर्ने काम शुरु गरिएको स्थानीय जनप्रतिनिधिले बताए ।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाका अनुसार सङ्क्रमितलाई घरदैलोमा पुगेर औषधि वितरण गर्ने, पल्स अक्सिमिटरबाट अक्सिजन नाप्न लगाउने, मनोवल उच्च राख्न परामर्श दिने लगायतका सेवा सञ्चालन गरिएको छ । गाउँपालिकाले अक्सिजनको लेभल कम भएकालाई कोभिड अस्पतालमा भर्ना गर्ने गरेको छ ।

घरदैलोमा पुगेर परामर्श, सल्लाह र औषधी वितरण गर्दा उनीहरुमा हौसला बढेको बेनी नगरपालिका १ का वडाअध्यक्ष टेकबहादुर रावलले बताए । ‘सङ्क्रमण पुष्टि भएपछि मानिसहरु धेरै आत्तिदा रहेछन्, यस्तो बेलामा मनोसामाजिक परामर्शले सङ्क्रमितलाई हौसला प्रदान गर्दो रहेछ,’ अध्यक्ष रावलले भने, ‘हामी नियमित सल्लाह र परामर्श प्रदान गर्ने कार्यमा लागेका छौं ।’

सङ्क्रमितको घरमा अरु सदस्यलाई रोग नफैलियोस् भनेर मास्क, सेनिटाइजरसँगै अक्सिजनको मात्रा जाँच्न अक्सिमिटर र ज्वरो नाप्न थर्मलगन लगायत स्वास्थ्य सामग्री पुर्याउने गरिएको बेनी नगरपालिका ३ भकिम्लीका वडाअध्यक्ष पदम पुनले बताए ।

मंगला गाउँपालिकाले सबै जनप्रतिनिधीहरुलाई क्षेत्र छुट्याएर सङ्क्रमितहरुको घरदैलोमा खटाएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘कसैलाई अस्पताल लैजानुपर्ने भएमा डाक्टरसँग परामर्श गर्छौँ,’ भुसालले भने, ‘दिनरात नभनी हामी घरदैलोमा छौँ ।’

उता उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकामा पनि सङ्क्रमितको अवस्था बुझ्दै आएको गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले बताए । उनले सबै स्वास्थ्य संस्था र वडा कार्यालयमा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको बताउँदै वडा मार्फत सङ्क्रमितको घरसम्म स्वास्थ्य सामग्री पु¥याउने गरिएको जानकारी दिए ।

‘सङ्क्रमितको घरमा हामी पुगेर टाढैबाट भेट्छौँ,’ भण्डारीले भने, ‘औषधि र स्वास्थ्य सामग्री पनि दिन्छौँ ।’ भेटघाटले सङ्क्रमितलाई केही भए सरकार छ भन्ने हौसला हुने गरेको भण्डारीको भनाइ छ । कोरोना सङ्क्रमण जित्न मनोवल घटाउन नहुने, नियमित परामर्श लिनुपर्ने, व्यायाम र सन्तुलित भोजन गर्नुपर्ने स्वाथ्यकर्मीहरुले बताउने गरेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here