सुदूरपश्चिममा मन्त्रीहरुको हेरफेर

१४ जेठ, धनगढी ।

सुदूरपश्चिम प्रदेशको मन्त्रिमण्डलमा हेरफेर भएको छ । सुदूरपश्चिम सरकारमा सहभागी नेकपा एमालेका तीन जना मन्त्रीले राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट हुन् ।

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेशसभा संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

यसलाई लिएर विवाद भइरहेका बेला सरकारमा भएका तीन मन्त्रीले शुक्रबार दिउँसो राजीनामा दिएका थिए ।

त्यससँगै एमालेबाट चार र माओवादी केन्द्रबाट एक गरी पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका छन् ।

एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह मन्त्रीमा दोहोरिएका छन् । शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसअघि उनले सम्हालेको आन्तरिक मामिलामा पूर्णा जोशी आएकी छन् भने दीर्घ सोडारीलाई भौतिक पूर्वाधार र लालबहादुर खड्कालाई जोशीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

माओवादी केन्द्रबाट मानबहादुर धामी पर्यटनमन्त्री बनेका छन् ।

त्यस्तै चुनदेवी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनार राज्यमन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार नै शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here