देउवालाई प्रधानमन्त्री नियुक्त नगरिनु संविधान विपरितः खिमलाल देवकोटा

१४ जेठ, काठमाडौं ।

नवनिर्वाचित राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरिनु संविधान विपरित भएको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभा सदस्यको रुपमा सपथ ग्रहण गर्दै डा. देवकोटाले संविधानतः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६(५) अनुसार दाबी गरिसकेपछि देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरिनुपर्नेमा त्यसो नगरी संविधान बाहिर गइएको बताएका हुन् ।

शपथ ग्रहण पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले संविधानलाई मास्ने षड्यन्त्र भइरहेको भन्दै संविधानलाई बचाउने र सहि दिशामा ल्याउन आफ्नो भुमिका हुने बताएका छन् ।

डा. देवकोटाले संविधानतः प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने भएपनि संसदलाई छलेर पटक पटक विघटन गरिएकाले संविधानलाई मास्ने र सिध्याउने खेल भएको बताए ।

डा. देवकोटाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्ने विश्वास पनि व्यक्त गरेका छन् । संविधानलाई सहि दिशामा ल्याउनका लागि प्रतिनिधि सभा पुनस्र्थापनाको विकल्प नभएको उनको जिकिर छ ।

देवकोटाले राष्ट्रिय सभा सदस्यको रुपमा शुक्रबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथ लिए ।

डा. देवकोटा ६ गते भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनबाट नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले) माधव नेपाल समुहको सहयोगमा निर्वाचित भएका हुन् । उनले नेकपा(एमाले)का उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादललाई पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here