१४ जेठ, धनगढी ।
मध्यरातमा अचानक श्रीमती बिरामी हुँदा कसरी अस्पताल लैजाने भन्ने विषयमा घोडाघोडी नगरपालिका–५ का दलबहादुर विकलाई पहिलाजस्तो यसपटक चिन्ता र समस्या भएन ।
दलबहादुरले केही दिनअघि आफ्नी श्रीमती बिरामी भएपछि छिमेकीले सञ्चालन गरेको अटो रिक्सामा घोडाघोडी अस्पतालमा अस्पताल लगे र उपचार गरेर सोही रिक्सामा घर फर्किए । मध्यरातमै अस्पताल लगेर उपचार गरेर बिहानै श्रीमतीलाई घर लिएर गएका दलबहादुर भन्छन्, ‘अटो छ र त आनन्द छ ।’
टाउकोमा चोट लागेकी छोरीलाई पहलमानपुरस्थित पहलमानपुर पोलीक्लिनिकमा लिएर आएका घोडाघोडी नगरपालिका–११ का श्यामलाल कठरिया तनावका बीच भन्दै थिए, ‘अटोरिक्सा भएर छोरीलाई अस्पतालसम्म लिएर आउन सकँे नत्र के पो हुन्थ्यो । छोरीलाई चोट लाग्ने बित्तिकै फोन गरेँ र अटो आइपगेपछि छोरीलाई अस्पताल ल्याउन सकेँ, नत्र छोरीलाई धेरै समस्या हुने थियो ।’
स्थानीयस्तरमा अटो सञ्चालन भएदेखि आपत्विपत् पर्दा बिरामी अस्पतालसम्म पु¥याउन धेरै सहज भएको कठरियाको भनाइ छ ।
अहिले गाउँगाँउमा सञ्चालन भएका अटोरिक्साले गर्दा सामान्य काममा बजार निस्कनेदेखि लिएर बिरामी हुँदा अस्पताल लैजान निकै सहजता भएको छ । स्थानीय किसानले गाउँघरमा उत्पादन गरेका तरकारी तथा अन्य उत्पादनलाई बजारसम्म लैजानसमेत गाउँगाउँमा सञ्चालनमा आएका अटोरिक्साले गर्दा सहज भएको छ ।
घोडाघोडी नगरपालिका–२ का अगना चौधरीले आफूले उत्पादन गरेका फलहरू लिची र आँप बजारसम्म लैजान अटोरिक्साकै प्रयोग गर्ने गरेको बताउँछन् । पहिला–पहिला यस्तो सुविधा थिएन, साइकल चलाएर चर्को घाममा उत्पादित फलहरू लिएर बजारसम्म जानुपर्ने बाध्यता थियो तर अहिले गाउँमै सञ्चालित अटोरिक्साले गर्दा धेरै सहज भएको चौधरीको भनाइ छ ।
गाउँघरमा बिरामी बोक्ने, यातायातको पहुँचमा नभएका नागरिकलाई ग्रामीण भेगमै गएर गन्तव्यमा पुर्याउने गरेको पहलमानपुर बजार र आसपासमा अटोरिक्सा चलाउने टेकराज भट्टराईको भनाइ छ । रातारात बिरामीलाई पहलमानपुरबाट करिब ६० किलोमिटर टाढा अस्पतालसमेत पुर्याएको उनले बताए ।
‘हामी दिनरात चौबीसै घण्टा सेवामा हुन्छाँै । हुन त यो हाम्रो व्यवसाय हो तर पनि हामीले सेवा गरेकोजस्तो काम हुन्छ । रातदिन नभनी हामी सेवा दिन्छौँ, त्यसैले नागरिकले सहजता महसुस गरेका छन्,’ भन्छन्, भट्टराई ।
गाउँगाउँमा अटो सञ्चालन भएका कारण मानिसले बिरामीलाई तत्काल अस्पताल पुर्याउने गरेका कारण उनीहरूमा जोखिम कम हुने गरेको पहलमानपुरमा रहेको लक्ष्मी मेडिकलकी सञ्चालक दिना चौधरी बताउँछिन् । पहिला–पहिला मानिस यातायातका साधन नहुँदा अस्पतालसम्म आउन ढिला भएका कारण निकै समस्या भोग्ने गरे पनि आजभोलि अटोरिक्साका कारण गाउँले जीवनमा परिवर्तन आएको चौधरीको अनुभव छ । (रासस)