अज्ञात रोगले मर्न थाले हुम्लाका मौरी

१३ जेठ, हुम्ला ।

जिल्लाको सिमकोट गाउँपालिका–७ जबुका गाउँमा अज्ञात रोगका कारण मौरी घारमै मर्न थालेका छन् ।

लामो समयदेखि मौरीपालन व्यवसाय गर्दै आएका कृषकहरुले अज्ञात रोगका कारण घारमै मौरी मर्न थालेको बताएका छन् ।

व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका वडा नं ७ का गोइते सिंहका २० घारमध्ये पाँच घारमा अज्ञात रोगले मौरी मरेका वीरबहादुर सिहंले जानकारी दिए । अज्ञात रोगले घारभित्रै मौरी मर्न थालेपछि चिन्ता बढेको सिंहले बताए ।

मौरीपालन गरेका सिंहले मह र मौरीका घार बेचेर राम्रो आम्दानी हुने गरेको जानकारी दिए । एक्कासी मौरी मर्न थालेपछि व्यवसाय नै चौपट होलाजस्तो भएको उनको भनाइ छ ।

मौरी के कति कारणले मरे भन्नेबारे अहिलेसम्म कुनै जानकारी हुन सकेको छैन । जिल्लामा एक माना महको रु एक हजार देखि एक हजार २ सयसम्म मूल्य पर्ने गरेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here