नेपाललाई १० लाख डोज खोप दिने चीनको घोषणा

१३ जेठ, काठमाडौं ।

चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भएको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदान घोषणा गरेका हुन् ।

दुई राष्ट्रपतिको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको जानकारी दिएकी हुन् ।

यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । राष्ट्रपति सीले घोषणा गरेको नयाँ अनुदानसमेत जोड्दा चीनले नेपाललाई कुल १८ लाख डोज खोप प्रदान गर्ने छ ।

चिनियाँ समकक्षी सीसँगको टेलिफोन कुराकानीमा राष्ट्रपति भण्डारीले नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् ।

करिब ४० मिनेट भएको कुराकानीका क्रममा राष्ट्रपति भण्डारीले कोभिड–१९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु नेपाल सरकारको पहिलो दायित्व रहेको भन्दै आवश्यक खोप चीनबाट खरिद गर्न इच्छुक रहेको बताएकी थिइन् । उनले यस प्रक्रियामा सहजीकरण गरिदिन राष्ट्रपति सीलाई आग्रह गरेकी थिइन् ।

जवाफमा चिनियाँ राष्ट्रपति सीले आफ्ना सरकारी अधिकारीहरुसँग बुझ्ने बताएका राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए । ‘यहाँको अनुरोधलाई मैले मनन् गरेको छु, हामी नेपाललाई सहयोग गर्न सधैं तत्पर छौं’ कुराकानीमा क्रममा राष्ट्रपति सीले भनेका थिए । उच्चस्तरको यो सम्बादमा नेपालले पहिलोपटक खोप खरिदको प्रस्ताव गरे पनि कुनै ठोस प्रगति भने हुन सकेको छैन ।

दैनिक २ करोड कोरोना खोप उत्पादन गरिएको चीन बिश्वमा सवैभन्दा धेरै कोरोना खोप उत्पादन क्षमता भएको देश हो जसले हरेक दिन आफ्ना १ करोड ४० लाख नागरिकलाई खोप दिइरहेको छ ।

राष्ट्रपति भण्डारीले मंगलबार मात्र भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्र पठाएकी थिइन् । ‘यसले हामी खोपलाई कति प्राथमिकता दिएका छौं भन्ने प्रमाणित गर्छ,’ स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भने ।

खोप उत्पादन गर्ने मुलुकहरुमा नै संक्रमण बढेकाले समस्या भएको भए पनि आफूहरुको प्रयत्नमा कुनै कमी नभएको उनले बताए । मन्त्री त्रिपाठीले भने, ‘प्रक्रियाबारे डिटेलमा बताउन चाहन्नँ, तर खोप हामी ल्याउँछौं र जनतालाई लगाउँछौं ।’

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here