१२ जेठ, पर्सा ।
निषेधाज्ञा अवधिमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भन्ने हल्ला निराधार रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता वितरण नभएको बताएका हुन् ।
जिल्ला प्रशासन कार्यालयको नाम जोडेर हालै समाजिक सञ्जालमा नागरिकता वितरण सम्बन्धी विषयलाई लिएका भएका पोष्ट र आएका समाचारहरु प्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
‘नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमणको बढ्दो अवस्थालाई नियन्त्रण, रोकथाम र संक्रमणको श्रृंखला तोड्न बैशाख १६ गते देखि नै पर्सा जिल्लाभर लागु हुने गरी निषेधाज्ञा लागु गरिएको छ । निषेध आदेश हालसम्म जारी छ,’ विज्ञप्तीमा भनिएको छ, ‘निषेधाज्ञा जारी भएको अवस्थामा कार्यालयबाट शान्ति सुरक्षा कोभिड नियन्त्रणसँग सम्बन्धित कार्य एवं अत्यावश्यक काम बाहेक अन्य सबै प्रकारका सेवा प्रवाह हाल स्थगन गरिएको छ । तसर्थ नागरिकता वितरणको कार्य पनि यस निषेधाज्ञा अवधिमा नगरिएको एंव नभएको व्यहोरा स्पष्ट पारिन्छ ।’
निषेधाज्ञा अवधिमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भनी सामाजिक सञ्जालमा भाइरल बनाइएको भिडियो फुटेज पुरानो रहेको प्रशासनले विज्ञप्तीमा मार्फत स्पष्ट पारेको छ ।
‘सामाजिक सञ्जालमा भएका पोष्ट एंव आएका समाचारहरु आधारहीन, सत्य र कपोल कल्पित छ । प्रशासनको प्रयास कोभिड–१९ संक्रमणको नियन्त्रण रोकथाम र उपचार व्यवस्थापनमा केन्द्रित छ,’ विज्ञप्तीमा भनिएको छ ।