जिल्लामा सङ्क्रमितको मृत्यु २ सय नाघ्यो

१२ जेठ, चितवन ।
जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २ सय नाघेको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका हुन् ।

स्वास्थ्य कार्यालय चितवनका तथ्याङ्क अधिकृत गीताञ्जली ढकालका अनुसार हालसम्म जिल्लामा २ सय ६ जनाको मृत्यु भएको छ । तीमध्ये भरतपुर महानगरपालिका १ सय ३१ को मृत्यु भएको हो ।

यस्तै खैरहनी नगरपालिकाका ११, माडी नगरपालिकाका सात, रत्ननगर नगरपालिकाका २४, राप्ती नगरपालिकाका १८, कालिका नगरपालिकाका १३ र इच्छाकामना गाउँपालिकाका दुई जनाको कोरोनाका कारण मृत्यु भएको हो । जिल्लाका विभिन्न अस्पताल र होम आइसोलेशनमा उनीहरुको मृत्यु भएको हो ।

जिल्लाका अस्पतालहरुमा बाहिरी जिल्लाबाट उपचार गर्न आउने सङ्क्रमितको सङ्ख्यामा पनि ठूलो रहेकको छ । उपचारका लागि बाहिरी जिल्लाबाट आएकाहरुमा २ सय ६४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । जिल्ला र बाहिरी जिल्लाका मृतकमध्ये ३ सय २८ जनाको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । व्यवस्थापन गरिएका शव परिवारको सल्लाहमा पारिवारिक संस्कारअनुसार जलाउने वा गाड्ने गरिएको छ । मृतकमध्ये १ सय ३३ जनाको शव भने परिवारले नै व्यवस्थापन गरेका छन् ।

जिल्लामा हालसम्म १२ हजार ९ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये चार हजार ८ सय ३४ सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये चार हजार ६ सय ५८ होमआइसोलेशनमा उपचाररत रहेका छन् भने १ सय ६२ अस्पतालमा र १४ जना सामुदायिक आइसोलेशनमा रहेको ढकालले जानकारी दिइन् । उनका अनुसार सात हजार ९ सय ३५ जनाले कोरोना सङ्क्रमण जितेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here