गोरखाको आरुघाट क्षेत्रबाट सालकको उद्धार

११ जेठ, गोरखा ।
जिल्लाको आरुघाट क्षेत्रबाट सोमबार सालकको उद्धार गरिएको छ । गाउँपालिकाको वडा नं ९ स्थित आरुघाट पुल नजिकैबाट सालकको उद्धार गरिएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले जानकारी दिए ।

स्थानीयवासीले सालक भेटिएको जानकारी दिएपछि वन कार्यालय र इलाका प्रहरी कार्यालय आरुघाटबाट गएको प्रहरीको संयुक्त टोलीले सालकको उद्धार गरेको उनले बताए । उद्धार गरिएको सालकलाई गोरखा नगरपालिका–८ स्थित लुदी दामगाढे सामुदायिक वन क्षेत्रमा छाडिएको थियो । उक्त सामुदायिक वन क्षेत्र सालकको राम्रो बासस्थान क्षेत्र भएकाले सो क्षेत्रमा लगेर छोडिएको हो ।

गोरखा नगरपालिका क्षेत्रमा यसअघि पनि पटकपटक सालक भेटिएको भए पनि आरुघाट क्षेत्रमा पहिलोपटक फेला परेको वन कार्यालयले जनाएको छ । सालक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा संरक्षित वन्यजन्तुको सूचीमा पर्छ । (रासस)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here