नागरिकता अध्यादेशले मधेशमा खुशियाली, प्रभु साहको क्षेत्रमा दिपावली

१० जेठ, गौर ।

नागरिकतासम्बन्धी अध्यादेश प्रमाणीकरण भएको खुशीयालीमा मधेशका प्रमुख शहरहरूमा दिपावली गरिएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिक अध्यादेश (पहिलो संशोधन) २०७८ प्रमाणीकरण गरेपछि मधेशका जिल्लाहरुमा खुशियाली मनाइएको हो ।

यस अध्यादेशले लाखौं नागरिकता विहीन नेपाली युवाको कल्याण हुने भन्दै प्रदेश २ को राजधानी जनकपुरसँगै राजबिराज, लहान, गौर र मौलापुर लगायतका शहरहरूमा आइतबार साँझ दिपोत्सव गरिएको हो ।

प्रभु साहको क्षेत्रमा विशेष उत्सव
नागरिकता अध्यादेश प्रमाणिकरण भएकै खुशियालीमा निवर्तमान शहरी विकास मन्त्री प्रभु साहको निर्वाचन क्षेत्रमा पनि उत्सव मनाइएको छ । आइतबार साँझ नेता साहको निर्वाचन क्षेत्र रौतहट–३ को कटहरीया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, देवाही गोनाही नगरपालिका, मौलापुर नगरपालिकाको वडाहरुमा दिपावली मनाइएको हो ।

 

गत असार ७ गते नागरिकता विधेयकबारे तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णयको विरोधमा नेकपाकै नेता प्रभु साह पनि उभिएका थिए ।

यस बाहेक रौतहट सदरमुकाम गौर, राजदेवी, बौधीमाईलगायतका स्थानहरूमा पनि उत्सव मनाइएको छ ।

बौधीमाई नगरपालिकाका युवा नेता त्रिभुवन साहले अध्यायदेश आएसँगै लाखौं नागरिकको नागरिकता सम्बन्धी समस्या समाधान हुने भएकोले खुशीयाली मनाइएको बताए । नागरिकता पाउनबाट जनतालाई बञ्चित गर्न खोज्नेहरुलाई पराजित गरेकोमा उनले सरकारलाई धन्यवाद दिएका छन् ।

मौलापुरका युवा नेता नागेन्द्र साहले पनि नागरिकता सम्बन्धी अध्यादेश ल्याइएकोमा सरकारलाई धन्यवाद दिएका छन् ।

दिपोत्सवको अगुवाई गरेका कटहरीया नगरपालिकाका नेता राकेश गिरीले नागरिकता अध्यादेश ल्याउनु अस्थिरता मच्चाउनेहरुमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको विजय भएको बताए ।

त्यस्तै फतुवा विजयपुर नगरपालिकाका युवा नेता एवम् कलाकार विजय यादवले वर्तमान सरकार मधेशको अहम् समस्या समाधान गर्न सफल भएको बताए । उनले यस पहलकदमीका प्रधानमन्त्रीलाई धन्यवाद स्वरुप नगरवासीले उत्सव मनाएको प्रतिक्रिया दिए ।

नेपाल नागरिकता अध्यादेश प्रमाणीकरण भएसँगै अब ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता लिन पाउनेछन् भने बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने छ ।अध्यादेशसंगै अब विदेशी बुहारीले पनि नागरिकता लिन ७ वर्ष कुर्नु नपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here