१० जेठ, काठमाडौं ।
जनता समाजवादी पार्टी (महन्थ ठाकुर पक्ष)को कार्यकारिणी समितिको बैठकले उक्त दलका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
पार्टीमा कुनै छलफल नै नगरिकन माओवादी केन्द्र र काँग्रेस गठबन्धनमा सामेल भएको तथा पार्टीको हितविपरित गतिविधि गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय भएको बैठकमा सहभागी एक कार्यकारिणी सदस्यले बताए ।
यसअघि शनिबार बसेको उपेन्द्र यादवपक्षको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । कार्यकारिणी समितिको बैठक अझै जारी छ ।
अध्यक्ष ठाकुरले जेठ ७ गते नै विज्ञप्ति जारी गरी ८ र ९ गते बस्ने भनिएको बैठक स्थगित भएको जानकारी गराएका थिए । तर शनिबार उपेन्द्र यादव पक्षको बैठक बसि नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि आइतबार ठाकुरले पनि बैठक बसाएका थिए ।