९ जेठ, काठमाडौं ।
सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले विघटित संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका निवर्तमान सांसदहरुलाई नागरिकतासहित हस्ताक्षरका लागि सिंहदरबार बोलाइएको छ । सबैको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी छ ।
शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलको संयुक्त बैठकले संसद विघटनको कानूनी र राजनीतिक लडाइ लड्ने निर्णय गरेको थियो ।
विपक्षी गठबन्धनका बहुमत सांसदहरुको समर्थन रहेको दाबीसहित कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका थिए । तर दाबी नपुगेको भन्दै सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।