सर्लाहीका ग्रामीण भेगमा लकडाउनको प्रभाव न्यून

निरज कुमार यादव\प्रदेशपालिका
९ जेठ, सर्लाही ।

जिल्लका विभिन्न स्थानीय तहमा तीन सातायता लकडाउन निरन्तर छ । कोरोना नियन्त्रण तथा संक्रमणको जोखिम कम गर्न लकडाउन लगाइए पनि यसको पालना भने नभइरहेको स्थानीय गुनासो गर्छन् ।

लकडाउन भइरहँदा पनि सबैभन्दा बढी जोखिमयुक्त कार्य गर्नेमा लघुवित्त पहिलो स्थानमा छन् । लघुवित्त संस्थाहरुले आफ्नो कार्यशैलीमा कुनै सुधार गरेका छैनन् । अझै पनि गरिब र विपन्न परिवारसँग त्यस्ता संस्थाका कर्मचारीहरुले रकम उठाउने, भेला गर्नेजस्ता कार्य गरिरहेका छन् ।

स्थानीय प्रशासन तथा पालिकाबाट भीड र भेला नगर्न, अत्यावश्यक नभइ एक अर्काको घर आवतजावत नगर्न अनुरोध गरे पनि उनीहरुले टेरेका छैनन् । जिल्लामा कोरोना संक्रमणले भयावह रुप लिएको जान्दाजान्दै उनीहरुले कुनै सावधानी अपनाएका छैनन् । उल्टै लकडाउन उल्लंघन गरिरहेका छन् ।

विशेषगरी जिल्लाका ग्रामीण भेगमा लकडाउनको खासै प्रभाव देखिएको छैन । स्थानीयमा कोरोनाको त्रास भए पनि केही व्यक्तिका कारण सिंगो गाउँ नै जोखिममा रहेको स्थानीय सन्तोष यादवले बताए । कौडेनाका स्थानीयका अनुसार किस्ता संकलन गर्न लघुवित्तका कर्मचारी घरमै आउने गरेका छन् । स्थानीय प्रशासनले भने यसरी मान्छेको आवतजावत बढेमा कोरोना पनि बढ्ने भएकाले यस्तो कार्यमाथि रोक लगाएको छ ।

तर लघुवित्तका कर्मचारीले सरकारी निर्देशनको अवज्ञा गर्दै आएका छन् । ‘एकातिर आम्दानी गर्ने श्रोत बन्द छ । दुध, साग, तरकारी केही विक्रि गर्न पाएको छैन । अर्कोतिर कोरोना सर्ला भन्ने पीर छ,’ स्थानीय सुरेश यादवले भने ।

डिप्रोक्स, फरवार्ड, ग्रामीण विकासजस्ता विभिन्न लघुवित्तहरु निषेधाज्ञाको समयमा पनि किस्ता उठाउने, बैठक बस्नेजस्ता कार्य गरिरहेका छन् । यसैगरी पसल र बजारमा पनि भीडभाड हुने गरेको सुरेशले बताए ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङका अनुसार वर्तमान अवस्थामा लघुवित्त संस्थाहरुले घरमै गएर किस्ता उठाउने वा अन्य कार्य गर्न पाउँदैनन् । ‘तर यस्तो भइरहेको गुनासो आएको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई कारवाही गरिनेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here