निरज कुमार यादव/प्रदेशपालिका
८ जेठ, सर्लाही ।
जिल्लाकी एक युवती माथि सामुहिक बलात्कारको प्रयास भएको छ । गोडैता नगरपालिका वडा नं.– १२ मधुवनीमा गत जेष्ठ ३ गते सोमबार साँझ ७ बजे खेतबाट काम गरेर घर फर्किरहेकी स्थानीय एक २२ वर्षीया युवती माथि ३ जना ब्यक्तिहरुले सामुहिक बलात्कारको प्रयास गरेको उनले बताएकी छिन् ।
पीडित युवतीका अनुसार पुर्व भारतको बोर्डरसम्म (सिमानाका)जाने गोरेटो बाटोको छेउमा रहेको आफ्नो खेतमा काम गरेर फर्किँदा सोमबार साँझ ७ बजेको समयमा बाटोछेउ पहिल्यैदेखि लुकेर बसिरहेका गोडैता नगरपालिका १२ मधुवनी गाउँका महेन्द्र रायको छोरा वर्ष ३५ को सुरेन्द्र राय, सोही ठाउँ बस्ने शिवधारी रायको छोरा वर्ष ४० को जयलाल राय र भारतको विहार राज्य जिल्ला सितामढी थाना मेजरगंज ग्राम पंचायत विश्वम्भरपुर ननकार बस्ने मोतीलाल माझीको छोरा अन्दाजी वर्ष २० को धर्मेन्द्र माझीले रोकेर अभद्र व्यवहार गरेका थिए ।
उनीहरूको कुरा नसुनी केही नबोली अगाडी बढ्न लाग्दा अगाडीबाट आएर बाटो छेकेर मन्जुरी बगैर बल जबर्जस्ती चारैतिरबाट घेरा हाली भाग्न उम्कन कुनै मौका नदिई करणी गर्ने नियतले हातखुट्टा समाती मुख थुनेर लछारपछार गरी घिसार्दै नजिकैको आलीको भित्तामा लगेर अर्धनग्न पारेर करणी गर्ने प्रयास गर्न थालेपछि आफुलाई बचाउन जोरजोरले कराउन सुरु गरे पछि खेतम काम गरेर आ–आफ्नो घरतर्फ फर्किरहेका गाउँलेहरु आवाज सुनेका थिए ।
गाउँलेले होहल्ला गर्दै आएपछि ती तीनैजना उक्त स्थानबाट भागेका थिए । युवतीले आफुमाथि अमर्यादित यौन दुव्र्यवहार गरि समाजमा रहेको मान सम्मान र ईज्जत प्रतिष्ठामा आँच पुर्याएका ती तीनैजना ब्यक्तिहरुको खोजतलास र पक्राउ गरि कानुनी कार्यवाही गरेर हदैसम्मको दण्ड सजाय गरि क्षतिपूर्ति समेत दिलाउन माग गर्दै शुक्रवार दिउँसो आरोपित तीनै जनाविरुद्ध सदरमुकाम मलंगवा स्थित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दरखास्त दिएकी छिन् ।