६ जेठ, वीरगञ्ज ।
वीरगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख ९१ वर्षिया शान्ति कार्कीले गलत सावित गरिदिएकी छन् । कोरोनालाई परास्त गर्दै कार्की अस्पतालबाट घर फर्किएकी छन् ।
हिन्दू धर्ममा मृत्यु अगाडि गरिने दश दान कर्म पूरा गर्ने भनेर सामान समेत जोहो गरिसकेकी थिइन् उनले । ‘१० दान गराउने सामान बोकेर गएकी थिएँ । सामान फर्काएर ल्याउनुप¥यो,’ उनले हाँस्दै भनिन्, ‘खाली नाम र गोत्र दिएर ल दान गर्दिनुस् भन्थें । पण्डित नै पाइन र पो त !’
नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको दोस्रो लहर आक्रामक देखिएको परिस्थितिमा ९१ वर्षीया संक्रमितले कोरोना जित्नु सामान्य कुरा थिएन । त्यसैले उनलाई बधाई सन्देशसहितका फोन रिसिभ गर्न भ्याइनभ्याइ छ । उनी भन्छिन्, ‘कोरोनाले भन्दा मोबाइलले पो हैरान पा¥यो ।’
कार्की अविवाहित छिन् । आफ्नो घर नभएकाले अरुको घरमा बस्छिन् । महानगरपालिकाले दिएको सुविधाको गाडी नचढेर उनी प्रायः पैदलै हिंडेको देखिन्छ । चिनेजानेका प्रायः सबैले उनलाई ‘शान्ति दिदी’ भनेर बोलाउँछन् ।
कोरोनाको हटस्पट वीरगञ्जमा भौतिक दुरी कायम गर्न जनप्रतिनिधिलाई गाह्रो छ । जनप्रतिनिधिलाई देखे भने स्थानीयले आफ्ना समस्या र गुनासा सुनाउन घेरिहाल्छन् । कसैले बोलाएको ठाउँमा गइदिने, उनीहरुका समस्या सुनिदिने र समाधानको पहल गर्ने काम गर्दागर्दै उनी संक्रमित भइन् । ‘भिडभाडमा जान्न भनेर सुखै हुँदैन, वैशाख २२ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो,’ उनले सुनाइन् ।
आइसोलेसन अनुभव
महानगरपालिकाले आइसोलेसन सञ्चालनमा ल्याइसकेको थिएन, अस्पतालमा गम्भीर प्रकृतिका बिरामी मात्रै भर्ना गरिन्थ्यो । त्यसैले उनी दुई दिन होम आइसोलेसनमै बसिन् । नगरपालिकाले गोपालमण्डली धर्मशालामा १ सय बेडको कोरोना अस्पताल र १ सय बेडको आइसोलेसन तयार पा¥यो । वैशाख २४ गते उद्घाटनकै दिन पहिलो संक्रमितको रुपमा शान्ति दिदीलाई स्वागत गरियो ।
नियमित जस्तै आइसोलेसनमा बिहान ६ बजे नै उठेर नित्यकर्म गर्ने गरेको उनले बताइन् । ‘मलाई चिसो लाग्न सक्छ भनेर ननुहाउनू भनेका थिए, तर बिहान उठेपछि कौवा स्नान गर्थें, चोखो लुगा लगाएर जप, योग ध्यान, पूजापाठ, आराधना गर्थें,’ उनी भन्छिन्, ‘त्यसपछि मात्रै बरण्डामा ताजा हावा खान निस्कन्थें ।’
उनले आइसोलेसनको अनुभव सुनाइन्, ‘बिहान खाजाको रुपमा दूध रोटी ल्याइदिन्थे, त्यसपछि ११ बजे खाना र २ बजे नास्ता ल्याउँथे । नास्तामा के ल्याइदिउँ दिदी भनेर सोध्थे । म धेरै के नै खान सक्थें र ? कहिलेकाहीँ जे छ ल्याइदेऊ, धेरै नल्याइदेऊ भन्थें । कहिले उमालेको अण्डा मगाएर खान्थें । बेलुका ३ वटा रोटी, दूध र दाल खाएर सुत्थें । समय समयमा आएर औषधी दिन्थे ।’
उनले भनिन्, ‘कोरोना लागेको मान्छे हिँड्न त भएन, रोग अनुसारको अनुशासनमा बस्नुप¥यो । स्वास्थ्यकर्मीले भने अनुसार गर्नुप¥यो । मानिस सधैं अनुशासनमा बस्नुपर्छ । बरण्डामा अलि–अलि घुम्थें त्यत्ति हो ।’
‘मनोबल चाहिंदो रहेछ’
अस्पतालमा बस्दा उनको अक्सिजन लेभल प्रायः सामान्य नै रहेको अस्पतालका रितेश जयसवालले जानकारी दिए । ‘धेरै स्वास्थ्य समस्या उहाँमा देखिएन,’ उनले भने, ‘सामान्य संक्रमितलाई जस्तै भिटामिन बी, सी, ग्याष्टिकको औषधी र एउटा एन्टिबायोटिक चलायौं ।’
नियमित योग ध्यान गर्ने र कुनै पनि दीर्घ रोग नभएकाले पनि कोरोना जित्न सहयोग गरेको शान्तिको ठम्याइ छ । ‘मनोबल पनि चाहिंदो रहेछ । मनोबल भयो भने रोगले हत्पति च्याप्दैन रहेछ,’ उनले आफू निको हुनुको कारण सुनाइन्, ‘अस्पतालमा पनि राम्रो रेखदेख भयो ।’
संक्रमित भएपछि कत्तिको डर लाग्यो भन्ने प्रश्नमा उनले भनिन्, ‘म एउटै विश्वासमा छु, नहुने कुरा पर्दैन, हुने कुरा टर्दैन, मानिस बाँचिरहनुपर्छ भन्ने छैन, जाने दिन लुकेर बसे पनि जानु नै पर्छ । जन्मेपछि मर्ने हो । मलाई मर्नपर्छ भनेर डर लाग्दैन ।’
महानगरपालिकाले सञ्चालन गरेको कोरोना अस्पतालबाट उपप्रमुख शान्ति कार्कीलाई डिस्चार्ज गर्दा स्वागत गर्न नगर प्रमुख विजय सरावगी आफैं पुगेका थिए । ‘आफ्नो दृढ इच्छा शक्ति, उच्च मनोबल र अस्पतालका चिकित्सक स्वास्थ्यकर्मीहरुको मेहनतको कारण दिदीले कोरोनालाई पराजित गर्न सफल हुनुभएको छ,’ नगर प्रमुख सरावगीले भने, ‘एक डोज खोप लगाइसकेकोले पनि होला, खासै गाह्रो बनाउन सकेन । अस्पतालबाट सकुशल विदाई गर्न पाउँदा ज्यादै हर्षित छु ।’