आज जानकी नवमी, देवी सीताको प्रकाट्य दिवस

६ जेठ, काठमाडौं ।

आज हिन्दु धर्मावलम्बीहरुको आस्ठाको केन्द्र देवी सीताको प्रकाट्य दिवस मनाइँदैछ । बैशाख शुक्ल नवमीका दिन देवी सीता धरतीबाट उत्पन्न भएकी मान्यताका आधारमा आजको दिन सिताको आराधना गरिने परम्परा रहि आएको छ ।

आजकै दिन मिथिला नरेश जनकलाई सीता धरतीमा प्राप्त भएको र उनले सीतालाई आफ्नो पुत्री स्विकार गरेको मान्यता छ । राजा जनकले आफ्नो पुत्री मानेको कारण सीताको नाम जानकी पर्न गएको हो ।

देवी सीतालाई आदर्श नारीको रुपमा विश्वभरका हिन्दुहरुले पुज्ने गरेका छन् । आजको दिन मिथिला क्षेत्रमा आदर्श नारी सीताको विशेष पुजाआजा गर्ने गरिन्छ ।

जनकपुरधामस्थित जानकी मन्दिरमा प्रत्येक वर्ष सीता प्रकटोत्सव विशेष धुमधामका साथ मनाउने गरिन्छ । तर विश्वरभर फैलिएको कोरोना महामारीले गर्दा दुई वर्षदेखि जानकी नवमीको उत्सव प्रभावित हुँदै आएको छ ।

धनुषा जिल्लामा जारी निषेधाज्ञाको कारण मन्दिर बन्द रहेकाले मन्दिरभित्रै विधिपूवर्क पूजा गरी जानकी नवमी मनाइँदैछ ।

राष्ट्रपतिद्वारा शुभकामना सन्देश जारी

सीता जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना गरेकी छिन् । राष्ट्रपतिले जारी गरेको शुभकामना सन्देशमा यस दिवसले लैङ्गिकलगायत सबै प्रकारका सामाजिक– सांस्कृतिक विभेद अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृति समाजको निर्माणका लागि  प्रेरणा प्रदान गरोस् भन्ने उल्लेख गरिएको छ ।

राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा धैर्य, संयम र विवेककी प्रतिमूर्ति एवं आदर्श नारीका रुपमा चित्रित सीता नेपाल भूमिकी पुत्री हुनु हामी सबैका लागि गौरवको विषय भएको उल्लेख छ ।

मुख्यमन्त्रीद्वारा शुभकामना सन्देश जारी

जानकी नवमीको अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गरेका छन् ।

सन्देशमा मुख्यमन्त्री राउतले जानकी नवमी जनकपुर र प्रदेश २ कै गरिमालाई विश्वमा स्थापित गर्ने महत्वपूर्ण अवसर भएपनि कोरोना फैलिएको कारण भव्यता दिन नसकेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here