यस्ता छन् गुगलले ल्याउन लागेका नयाँ प्रोडक्ट

६ जेठ, काठमाडौं ।

गुगलले आफ्ना आगामी नयाँ प्रोडक्टहरु सार्वजनिक गर्ने वार्षिक समारोहको रुपमा रहेको डेभलपर्स कन्फ्रेन्स महामारीका कारण गत वर्ष हुन सकेन । यस वर्ष भने मंगलबारदेखि गुगलको उक्त वार्षिक सम्मेलन सुरु भएको छ ।

निकै बहुप्रतिक्षित तथा महत्वपूर्ण मानिएको यस पटकको सम्मेलनमा गुगलले आफ्ना विभिन्न नयाँ प्रोडक्टहरु सार्वजनिक गरिसकेको छ । गुगलले यस सम्मेलनमा अहिलेसम्म सार्वजनिक गरिसकेका प्रोडक्टहरु यस्ता छन् ।

१. समावेशी क्यामेरा :
गुगलको दाबी छ, उसले यस्तो स्मार्टफोन क्यामरा बनाएको छ जसले मानिसको छालाको वर्णलाई जस्ताको तस्तै उतार्न सक्दछ । गुगलका अनुसार स्मार्टफोन क्यामरामा रहेको अटो ह्वाइट ब्यालेन्स एडजस्टमेन्टमा परिवर्तन गरिँदैछ जसले छालाको प्राकृतिक खैरो वर्ण खिच्न सक्दछ ।

साथै, गुगलले नयाँ अल्गोरिदम निर्माणमा समेत काम गरिरहेको छ जसले पृष्ठभूमिबाट वस्तुलाई राम्रोसँग छुट्टाउन सकिन्छ । यो वर्षको अन्त्यतिर बजारमा आउने गुगल पिक्सेल फोनमा उक्त फिचर सहितको क्यामरा उपलब्ध हुने गुगलले जनाएको छ । स्मरण रहोस् पछिल्लो समयमा गुगलमाथि जातिभेदको अर्थात् रेसिजमको आरोप लाग्दै आएको छ । आर्टिफिसियल इन्टेलिजेन्स विज्ञ टिमनिट गेब्रुले गुगललाई संस्थागत रुपमै जातिभेदी रहेको आरोप लगाएकी छन् ।

२. गुगल फोटोजमा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स :
अब गुगल फोटोजले पनि फेसबुक तथा एप्पलको मेमोरिज फिचर जस्तै आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी सान्दर्भिक फोटोहरुको संग्रह तयार गरिदिनेछ । यसमा प्रयोगकर्ताले कुन कुन फोटो तथा सन्दर्भहरुलाई यस्तो संग्रहबाट हटाउने भन्ने कुराको निर्णय गर्न सक्नेछन् । त्यस्तै गुगल फोटोजमा लिटल प्याटर्नस् नामक नयाँ फिचर थप हुनेछ । जसले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी फोटोहरु स्क्यान गर्नेछ र समान खालका तस्वीरहरु छानेर एल्बम तयार गर्नेछ । साथै गुगलले नयाँ मेसिन लर्निंगको प्रयोग गरी एकै ठाउँ तथा सन्दर्भका तस्वीरहरु जोडेर भिडियो जस्तै मुभिङ इमेज तयार पार्नेछ । यसलाई गुगलले सिनेम्याटिक मोमेन्ट्सको नाम दिएको छ ।

३. भाषामा समावेशीता :
गुगलले स्मार्ट क्यानभास नामक नयाँ फिचर लञ्च गरेको छ । यो एउटा छाता प्लाटफर्म हो, जसमा गुगल डक्स, मिट, शिट्स, टास्क तथा स्लाइड लगायतका सामेल हुनेछन् । साथै गुगलले एसिस्टेड राइटिंग टूल पनि ल्याएको छ । यसले प्रयोगकर्तालाई लैंगिक मैत्री भाषा प्रयोगका लागि सुझाव दिनेछ । उदाहरणका लागि प्रयोगकर्ताले रोमन लिपिमा ‘चेयरम्यान’ लेखेमा गुगलले ‘चेयरपर्सन’ अथवा ‘Chairi’ लेख्ने विकल्प सुझाउनेछ । यो फिचरका विषयमा थप विस्तृत जानकारीहरु आउने हप्ताहरुमा सार्वजनिक गरिने गुगलले जनाएको छ ।

४. एन्ड्रोइड १२ :
गुगलले एन्ड्रोइडको इतिहासमै सबैभन्दा ठूलो डिजाइन परिवर्तनको दाबी गर्दै नयाँ अपरेटिंग सिस्टम एन्ड्रोइड १२ घोषणा गरेको छ । नयाँ अपरेटिंग सिस्टमयुक्त स्मार्टफोनमा स्क्रिनको उपल्लो भागमा बल्ने प्रकाशबाट एपले क्यामरा तथा माइक्रोफोन प्रयोग गरे नगरेको पत्ता लगाउन सकिनेछ । यो फिचर आइफोन डिभाइसमा चाहिँ पहिले देखि नै उपलब्ध थियो । नयाँ अपरेटिंग सिस्टममा प्रयोगकर्ताले आफ्नो एकिन लोकेसनको साटो आसपासको लोकेसन समेत शेयर गर्न सक्दछन् । तेश्रो पक्ष एपहरुबाट अन्य व्यक्तिहरुले प्रयोगकर्तालाई ट्रयाक गर्नबाट रोक्नका लागि यो फिचर सहयोगी हुने अपेक्षा गरिएको छ ।

५. थ्री डी भिडियो कन्फ्रेन्सिङ :
आफ्नो वार्षिक डेभलपर्स कन्फ्रेन्समा गुगलले नयाँ भिडियो च्याट सिस्टम निर्माणमा काम गरिरहेको घोषणा गरेको छ । जस अनुसार अब प्रयोगकर्ताले आफूसँग च्याट गर्ने व्यक्तिलाई थ्री डीमा देख्न सक्नेछन् । स्टारलाइन नाम दिइएको उक्त परियोजनाले भिडियो च्याटलाई अल्ट्रा रियालिस्टिक बनाउने बताइएको छ । जारी कोरोना भाइरस महामारीका कारण भिडियो कन्फ्रेन्सिंगलाई बढि भन्दा बढी उत्कृष्ट बनाउने दबाब गुगलमाथि पनि परेको सन्दर्भमा थ्री डी भिडियो च्याट विकास गर्न लागेको हो । यद्यपि तत्कालै यो प्रविधि प्रयोगकर्ताको पहुँचमा भने हुने छैन । यो आम प्रयोगकर्ताका विद्यमान स्मार्टफोनहरुमा प्रयोग गर्न सकिने छैन ।

६. छाला तथा कपालको रोग पत्ता लगाउने :
गुगलले अर्को नयाँ तथा निकै कामलाग्ने टूल पनि घोषणा गरेको छ । उक्त टुलले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगले मानिसका छाला, नङ तथा कपालको विश्लेषण गर्नेछ । प्रयोगकर्ताले अपलोड गर्ने तस्वीरको आधारमा उक्त टुलले छाला, कपाल तथा नङमा देखिने खराबी पहिचान गर्ने तथा त्यसको बारेमा जानकारी पनि उपलब्ध गराउनेछ । गुगलका अनुसार यो टुलले युरोपमा चिकित्सा टुलको रुपमा उत्कृष्टताको अवार्ड समेत पाइसकेको छ । (बिबिसीबाट अनुदीत)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here