६ जेठ, काठमाडौं ।
स्पेनले कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
बुधबार राति राजधानी म्याड्रिडबाट आइवेरिया एयरलाइन्सको एक चार्टर्ड विमान भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामग्री सहित काठमाडौँका लागि उडेको स्पेनस्थित नेपाली राजदूतावासले जनाएको छ । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा स्वास्थ्य सामग्रीहरु लिएर नेपाल प्रस्थान गरेकी छिन् ।
राजदूतसँगै नेपाल उडेका अन्तर्राष्ट्रिय सहयोगका लागि स्पेनिस एजेन्सी एईसीआईडीका निर्देशक म्याग्डी मार्टिनेज सोलिमानले स्वास्थ्य सामग्रीहरु बिहीबार नेपाल सरकारलाई हस्तान्तरण गर्दैछन् ।
यसअघि सहयोगका लागि अनुरोध गर्दै दूतावासले स्पेनको परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय र निजी क्षेत्र चेम्बर अफ कमर्सलाई पनि पत्राचार गरेको थियो ।
यसैबीच बुधबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्पेनका विदेशमन्त्री अराँचा गोन्जलेज लयसँग टेलिफोन कुराकानी गरेका थिए । उनले नेपाललाई स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएकोमा स्पेन सरकारलाई धन्यवाद दिए । टेलिफोन कुराकानीमा दुई देशबीचको हित र सहकार्यको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आइवेरिया एयरलाइन्सको चार्टर्ड विमानबाट नेपालमा रहेका ४७ स्पेनिसहरुलाई स्वदेश फिर्ता ल्याउने स्पेनको परराष्ट्र मन्त्रालयले जनाएको छ ।