८ जेठ, काभ्रे ।
पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि सङ्क्रमणको उच्च जोखिम रहेको जनाउँदै काभ्रेपलाञ्चोकका थप पाँच स्थानीय तहले शनिबारदेखि आफ्नो क्षेत्र ‘सिल’ गरेका छन् ।
धुलिखेल नगर, पनौती नगर, पाँचखाल नगरपालिका, रोशी र भुम्लु गाउँपालिकाले आजदेखि स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जनाएका हुन् । जिल्लामा अन्य स्थानीय तहभन्दा कोरोना सङ्क्रमणदर उच्च सङ्ख्यामा रहेको जनाउँदै बनेपा नगरले आइतबारदेखि नै एक साताका लागि आफ्नो क्षेत्र शिल गरेको थियो ।
उक्त नगरपालिकाले मर्निङवाकसमेत गर्न दिएको छैन । ‘अन्य स्थानीय तहभन्दा बनेपामा सङ्क्रमण उच्च रहेपछि औषधि पसल र अस्पतालबाहेकका सबै सेवा बन्द गर्नुका साथै मर्निङवाकसमेत प्रतिबन्ध लगाउनुप¥यो,’ बनेपा नगरप्रमुख लक्ष्मीनरसिंह वादेले भने । बनेपा जिल्लाको प्रमुख शहर हो ।
पाँचखाल नगरले बन्दको समयमा मदिराजन्य पसल सञ्चालन गरेमा छ महिना अनुमति खारेज गरी रु ५० हजार जरिवानासमेत गर्ने जनाउँदै शनिबारदेखि एक साता नगर शिल गरिएको घोषणा गरेको छ ।
धुलिखेल र पनौती नगरले अत्यावश्यक सेवा र औषधि पसलबाहेकको सबै सेवा आज राति १२ बजेदेखि चार दिनका लागि बन्द गरेको जनाएका छन् । रोशी गाउँपालिकाले पनि अत्यावश्यक सेवाबाहेक गएराति १२ बजेदेखि आगामी बुधबार राति १२ बजेसम्म पाँच दिन सिल गरेको छ भने भुम्लु गाउँपालिकाले आजदेखि एक साताका लागि शिल गरेको जनाएको छ ।
साथै सिल गरिएका स्थानीय तहले फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउनेसमेत निर्देशन दिएका छन् । सूचना विभागबाट जारी प्रेस पासवहाक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचनामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयले गत आइतबारदेखि जिल्लामा एक साता निषेधाज्ञा थप गरेको छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । केही गाउँपालिकाले पनि निषेधाज्ञामा थप कडाइ गरेको जनाउँदै आएका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा १ सय ९७ मा कोरोना सङ्क्रमण पुष्टि भयो । अघिल्लो दिन ५ सय ९२ तथा बिहीबार २ सय ८२ मा सङ्क्रमण पुष्टि भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले जनाएको छ । साथै दैनिक ५० को हाराहारीमा कोरोना सङ्क्रमणमुक्त हुने गरेका छन् भने सरदर चारको मृत्यु हुने गरेको केन्द्रको तथ्याङ्कले देखाएको छ ।
कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार ४ सय ६९ सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा सबैभन्दा बढी बनेपा नगरमा २८ दशमलव ४७ प्रतिशत अर्थात् ७ सय ३ सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्ये धुलिखेलमा ५ सय ४७, पनौतीमा ४ सय ९६, पाँचखालमा १ सय ६२, नमोबुद्धमा १ सय १०, मण्डनदेउपुरमा १ सय ४२ तथा रोशी गाउँपालिकामा ६३, चौँरीदेउरालीमा २९, तेमालमा २८, भुम्लु ६७, खानीखोलामा ३९, बेथानचोकमा ४१ र महाभारत गाउँपालिकामा ४२ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनाएको छ ।
कूल सङ्क्रमितमध्ये ९५ प्रतिशत अर्थात् दुई हजार ३ सय ५० सङ्क्रमित होमआइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका ९९ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । (रासस)