८ जेठ, खोटाङ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माणको काम शुरु गरिएको छ । मासिक छ लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गर्ने स्रोतका रूपमा विकास गर्ने गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयसँगको साझेदारीमा दिक्तेलस्थित रत्नपार्कमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माणको काम शुरु गरिएको हो ।
तल्लो तलामा २३ वटा सटर र माथिल्लो तलामा २३ वटा सटर हुने दुईतले सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क रु तीन करोड ९६ लाखमा पूरा गर्ने गरी निर्माण कम्पनी उमा–लामा–अनशुवी जेभीले निर्माणको ठेक्का लिएको छ । विसं २०७९ फागुन मसान्तसम्ममा सम्पन्न हुने उक्त सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्कमा मन्त्रालयको रु दुई करोड ५७ लाख र नगरपालिकाको रु एक करोड ३९ लाख खर्च हुने सम्झौतामा उल्लेख छ ।
तल्लो तलाको सटरमा कोशेलीघर, नगरपालिकाको तरकारी, जिल्ला कृषकले उत्पादन गरेका कृषि उपज सङ्कलन केन्द्रलगायतका कक्ष राखेर अन्य कोठा व्यावसायिक प्रयोजनकै लागि भाडामा लगाइने नगरप्रमुख दीपनारायण रिजालले बताए । ‘एउटै छानामुनि नुनदेखि सुनसम्म उपलब्ध गराउने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘बीच भागमा भने केटाकेटी खेल्ने स्वीमिङ पुल, पिङलगायतका भौतिक संरचनासहितको आकर्षक पार्क निर्माण गरिने छ ।’
भाडावापत मासिक रु छ लाखभन्दा बढी राजश्व सङ्कलन गर्ने दिगो माध्यमका रूपमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्कलाई विकास गर्ने नगरपालिकाको लक्ष्य छ । निर्माणका लागि कोरोना कहरकैबीचमा पनि सचेतता अपनाएर हाल सञ्चालनमा रहेको प्रहरी बुथलगायतका भौतिक संरचना हटाउने काम तीव्रगतिमा भइरहेको ठेकेदार कम्पनीका प्रतिनिधि सुनिल राईले बताए ।
नगरपालिका र पर्यटन मन्त्रालयबीच पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिकाबमोजिम गर्ने, पालिकाले खरिद प्रक्रिया सम्पन्न गरी ठेक्का सम्झौता भएपश्चात सम्झौता रकममा लागत साझेदारी गर्ने, विद्युतीय खरिद प्रक्रियामार्फत कार्यक्रम गर्ने, ठेक्का सम्झौता भएपछि सम्झौता रकमको मन्त्रालयले बेहोर्ने भारको २० प्रतिशत रकम प्रथम किस्तावापत सम्बन्धित पालिकामा पठाउने, थप रकम कार्यक्रम कार्यान्वयनको प्रगतिका आधारमा निकासा गर्नेगरी द्विपक्षीय सम्झौता भएको छ ।
मन्त्रालयको गत भदौ २ गतेको सूचनामार्फत माग भएको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालनका लागि नेपाल सरकार मन्त्रीस्तरको माघ २९ गतेको निर्णयानुसार साझेदारी आयोजनाका रूपमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क छनोट भएको हो । (रासस)